शिक्षा विधेयक तत्काल प्रतिनिधि सभामा पेस नभए महासङ्घ आन्दोलनमा जाने

काठमाडौं/१६ असार – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट परित गर्ने प्रतिबद्धता असार १५ गते भनिएपनि सो अनुरूप अगाडी नबढेको भन्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । यसबाट शिक्षक कर्मचारी सशंकित र आक्रोशित भएको भन्दै विधेयक तत्काल पारित नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।


महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयक माथि चिलरहेको छलफल शीघ्रातिशीघ्र सम्पन्न गरी विगतका सहमतिहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेस गरी पारित गराउन ध्यानाकर्षण गराएका छन् ।


साथै यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई नरहेको र यस काममा कुनै पनि खालको विलम्ब र षड्यन्त्र भएमा नेपाल शिक्षक महासङ्घ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।


अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणाम प्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा महासङ्घले अपिल गरेको छ ।