इसिडीका लागि शिक्षक दरबन्दी निर्माण गर्न आवश्यक छ : शिक्षाविद् लुइटेल

काठमाडौँ /१५ असार – शिक्षाविद् डा.प्रा.बालचन्द्र लुइटेलले इसिडी कुनै छुट्‍टै कार्यक्रम नभएको बताउँदै शैक्षिक प्रणालीको अभिन्न हिस्सा रहेकोले इसिडीका लागि शिक्षक दरबन्दी निर्माण गर्न आवश्यक रहेको बताएका छन् । उनले सांसदहरू र शिक्षा मन्त्रालयका कर्मचारीहरूलाई सचेत गरउँदै उनले इसिडी शैक्षिक प्रक्रिया र प्रणालीको अत्यन्तै महत्वपूर्ण आधारलाई अलग्याउन नखोज्न आग्रह गरेका हुन् ।


उनले भनेका छन् ‘इसिडी कुनै छुट्‍टै कार्यक्रम होइन, यो शैक्षिक प्रणालीको अभिन्न हिस्सा हो । शैक्षिक प्रक्रिया र प्रणालीको यस अत्यन्तै महत्वपूर्ण आधारलाई अलग्याउन नखोज्नुहोस् । यदि हामी गुणस्तरीय विद्यालय शिक्षाको परिकल्पना गर्न चाहन्छौँ भने इसिडीका लागि शिक्षक दरबन्दी निर्माण गर्न आवश्यक छ । पक्कै पनि, हामी परिवार र समुदायहरूलाई समावेश गरेर सशक्त इसिडी कार्यक्रम विकास गर्न सक्छौँ । तर इसिडीलाई शैक्षिक प्रणालीको अविभाज्य हिस्सा नबनाउने जिम्मेवारी तपाईँहरूकै हुनेछ—तपाईँहरूकै कारण इसिडी कार्यक्रमहरू कमजोर, गरिब र प्रभावहीन हुनेछन् । अतीतका सामन्तहरूले जसरी बालबालिकालाई हेपेर हेर्थे, लोकतन्त्रको समयमा फेरि त्यही प्रवृत्ति दोहोरिनु हुँदैन ।’


साथै सबै नागरिक समाज, शिक्षाविद् र शिक्षा प्रेमीहरूलाई आग्रह गर्दै बिचार र विवेक बिहिन राजनीतिकर्मी र कथित ‘सल्लाहकार’हरूका अगाडि सही आवाज बुलन्द गर्न भनेका छन् । ‘म “विकास साझेदारहरू“लाई पनि आग्रह गर्न चाहन्छु—इसिडी र प्रारम्भिक बालविकासका शैक्षिक प्रक्रियालाई कमजोर पार्ने, अलग गर्ने वा उपेक्षा गर्ने गतिविधिहरूको गम्भीर रूपमा विरोध जनाउनुहोस् । शिक्षालाई सहि लिकमा ल्याउँ उनले भनेका छन् ।’