काठमाडौँ /११ असार – झापाको सेन्ट जेभियर्स विद्यालय र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एडुकेशनबिच विद्यालयको शैक्षिक रूपान्तरणका लागि सम्झौता भएको छ ।
विश्वविद्यालयका तर्फबाट डिन प्रा। डा। बालचन्द्र लुइटेल र सेन्ट जेभियर्स विद्यालय,देउनियाका तर्फबाट फादर सञ्जय इक्काले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सहकार्यको मूल उद्देश्य शिक्षण सिकाईमा सुधार, शिक्षकको पेसागत विकास, मूल्य—आधारित शिक्षा, परियोजना—आधारित शिक्षा, मूल्याङ्कन प्रणालीमा नवप्रवर्तन र विद्यालय नेतृत्व सशक्तीकरण लगायतका विषयमा शैक्षिक रूपान्तरण गर्ने अपेक्षा लिइएको विश्वविद्यालयको इकाइ सिपिइसीले जनाएको छ ।
साथै विद्यालयमा लागु गर्न सकिने नवीनतम शिक्षा शास्त्रीय अभ्यासहरू, अनुसन्धान—आधारित परामर्श, अनुगमन र मार्गदर्शन प्रदान गर्नेछ । विश्वविद्यालयको सामुदायिक जिम्मेवारी अन्तर्गत प्रदान गरिने शैक्षिक ज्ञान र विद्यालयको व्यवहारिक आवश्यकताबिच एक सशक्त सेतु निर्माण हुने विश्वास गरिएको छ ।
कार्यक्रम स्कुल अफ एजुकेशनको निरन्तर तथा पेसागत शिक्षा केन्द्र (सिपिइसी) को समन्वय तथा संयोजकत्वमा कार्यान्वयन हुनेछ ।



