काठमाडौँ/१८ जेठ – शिक्षकलाई मात्रै धारे हात लगाएर विद्यालय शिक्षामा सुधार नहुने शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेलले बताएका छन् । शिक्षाको व्यवस्था वा प्रणाली गतिलो नहुँदा समस्या देखिएको बताउँदै सो धारणा व्यक्त गरेका हुन् ।
उनले शिक्षा प्रणाली गतिलो नहुँदा शिक्षक राज्य दुबैले डेलिभरी गर्न नसकेको बताउँदै शिक्षामा सुधार ल्याउन शिक्षक, कर्मचारी र राज्य संयुक्त रूपमा जिम्मेवार भएर लाग्नु पर्ने उनको भनाई छ ।
शिक्षाविद् लुइँटेल गुणस्तरीय शिक्षाका लागि शिक्षक राम्रो हुनुपर्ने, त्यसका लागि तलब भत्ता राम्रो दिनुपर्ने, तलब भत्ताको सहि सदुपयोग गर्नुपर्ने बताए । साथै शिक्षक गयल कम हुन, शिक्षकले धेरै भन्दा धेरै समय विद्यालयलाई दिनका लागि स्थायी कहिले हुन्छ, बढुवा कहिले हुन्छ, कहिले तलब बढ्छ, औषधि उपचार तथा विदाका सुविधा के के हुने र शिक्षक सरुवा लगायतका विषयमा राज्य प्रस्ट हुनुपर्नेमा जोड् दिए ।
शिक्षामा बजेटको सन्दर्भमा बोल्दै शब्द राम्रा भएपनि बजेट छरछार गरिएको र विद्यालयको समस्या सरकारले पहिचान गर्न नसकेको बताए । उनले सरकारले नमुना विद्यालय बनाउनु गलत भएको र सय जति विद्यालय मात्रै बनाएर नहुने उल्लेख गर्दै प्राथमिकता पहिचान गर्न आवश्यक रहेको उनको भनाई छ । उनले भने ‘विद्यार्थी बढेका विद्यालयमा भौतिक संरचना छैन, दरबन्दी पनि कम छ, तर विद्यार्थी नभएका विद्यालयमा दरबन्दी बढाउने, संरचना बनाउने गर्दा बजेट रुपान्तरण मुखी, परिवर्तन मुखी हुनुपर्नेमा छरछार गरे जस्तो देखियो ।’
शिक्षक बैँकको सवालमा सुन्दा राम्रो भएपनि त्यसका लागि ठुलो लगानी आवश्यक नभएको र अबको ५ वर्ष पछि ठुलो सङ्ख्यामा शिक्षक निवृत्त भए त्यसको पूर्ति कसरी गर्ने भन्ने तर्फ सोच्न आवश्यक रहेको बताए ।
उनले भने ‘शिक्षक आउने स्रोत नै छैन, भएका विश्वविद्यालयमा शिक्षा संकाय वा विभाग बन्द हुँदैछन् । कित तालिमको व्यवस्था हुनुपर्छ । शिक्षक आउने स्रोत नै नभए कसरी शिक्षक बैँक सञ्चालन गर्ने ?’
साथै धेरै भन्दा धेरैलाई शिक्षण पेशामा आर्कषण गराउन सके, शिक्षक सेवालाई आर्कषण गराउन सके, सार्वजनिक शिक्षालाई राम्रो बनाउन सके र राम्रो सेवा दिएर रुचि राख्ने नबनाएसम्म शिक्षक बैँकको नाममा सिभी मात्रै जम्मा गरेर केही नहुने उनको भनाई छ ।



