काठमाडौँ /१४ जेठ – निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले आफूले शिक्षकहरू माथि सद्भावपूर्ण व्यवहार देखाउँदा शिक्षक नेता बाटै राजनीतिक चलखेल गरेको बताएकी छन् । विभिन्न माग राखेर नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैतमा गरिएको आन्दोलनका समय शिक्षकहरूकै पक्षमा लाग्दा आफूलाई अप्ठेरोमा पारिएको बताएकी हुन् ।
तत्कालीन समयमा शिक्षक महासङ्घले छलफल भएको छैन भन्ने र भित्रभित्र छलफल गरिरहेको बताउँदै आफू पनि शिक्षक भएर आएको हुँदा शिक्षकका समस्याका बारेमा बुझेकोले सद्भाव राखेर शिक्षकलाई अन्याय हुनुहुँदैन भनेर शिक्षककै पक्षमा उभिदाँ आफैलाई अप्ठेरोमा पारिएकोले पदबाट राजीनामा दिएको खुलाएकी छन् ।
उनले भनिन् ‘शिक्षक माथिको अन्याय विद्यार्थी र अभिभावक माथिको अन्याय हो । त्यसैलाई बुझेर मैले शिक्षक मात्रै बनाउन खोजे । अहिलेसम्म शिक्षकहरूलाई न्याय भएको थिएन । मैले शिक्षकको पक्षबाट सामाजिक न्याय खोजे । कुन राजनीतिसँग आबद्ध हुनुहुन्थ्यो हेरिन । उहाँहरू पनि कहीँ न कहीँ राजनीतिक हिसाबले सम्बन्धीत नै हुनुहुन्थ्यो । त्यसपछि उहाँहरू फरक फरक टिमसँग बसेर टिमको सल्लाहबाट आउनु भएको होकी भन्ने लाग्यो । महासङ्घले राजनीतिक रूपमा आग्रह राखेको र केही केही राजनीतिक लाभ हेरेर अगाडी बढ्यो भन्ने मैले बोध गरे । त्यसपछि उहाँहरू फरक फरक टिमसँग र टिमको सल्लाहबाट आउनु भएको बुझे । मैले शिक्षककै लागि निष्पक्ष हिसाबले सोचि रहेको अवस्थामा पक्षधर्ता त्यहाँ भित्र छ भने, त्यो पक्षधर्ता म सँग छैन भने मैले छोड्दै ठिक हुन्छ भन्ने लागेपछि मन्त्री पद छोडे ।’
उनले आफ्नो सक्रियतामा महासङ्घसँगको भएका छलफल र सहमतिका आधारमा अर्थमन्त्री, प्रधानमन्त्रीको सहमति लिएर ७ बुँदा तयार पारेको उल्लेख गर्दै ती बुँदालाई मन्त्रीपरिषद्ले निर्णय गर्ने कुरामा शिक्षकहरूलाई झुकाएर मात्रै निर्णय गर्नुपर्ने भन्ने सरकारको राय रहेको तर आफूले झुकाएर होइन निर्णय गरेर जानुपर्ने अडान लिएको बताइन ।
सरकारले पटक पटक शिक्षकहरूसँग सहमति गरेपछि सहमति प्रतिको प्रतिबद्धता र जवाफदेहीता सरकारले लिनुपर्नेमा जोड् दिँदै सबै शिक्षक कर्मचारीलाई न्याय हुने गरी अगाडी बढ्न खोजेको बताइन ।
आन्दोलनकै क्रममा मन्त्रालयसँगको छलफलमा आउँदा विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक, साविक उच्च माविका शिक्षकका प्रतिनिधि पनि ल्याउनु भनेर पत्र लेखेपछि शिक्षक नेताहरू रिसाएको उनको भनाई छ । “मैले सबैको प्रतिनिधित्व होस र भोलिलाई निर्णय गर्न सजिलो होस भनेर मन्त्रालयसँगको छलफलमा आउँदा विद्यालय कर्मचारी, प्रारम्भिक बालविकासका प्रतिनिधि, साविक उच्च माविका शिक्षकलाई ल्याउनु भनेर पत्र लेखेर पठाउँदा रिसाउनु भयो । हामी सबैको प्रतिनिधित्व छ, यसमा किन ल्याएर आउनु पर्यो भन्नु भयो । मैले हात जोडर भने, मलाई माफ गर्नुहोला, मैले हो यो लेख्न लगाएको, किनभने सबैको प्रतिनिधित्व भयो भने सबैका विचार, सबैका समस्या त्यहाँ सम्बोधन हुन्छन्, होइन भने कहिले काहीँ के हुन्छ भन्दा जसको बहुमत हुन्छ त्यसको मात्रै समस्या समाधान हुने अवस्था हुन्छ । यो लेख्न मैले लगाएको हो भनेर मैले हातै जोडेर उहाँहरूसँग भनेको छु ।”
आन्दोलनमा जसको सङ्ख्या धेरै छ, जो बढी उपस्थित छ त्यसको आधारमा र पहुँचमा मात्रै निर्णय हुने कुराले सबैको सन्तुष्टि हुँदैन र सबैको सन्तुष्टि हुनेगरी आन्दोलन गरियो भने पटक पटक आन्दोलन गर्नु पर्दैन, आन्दोलनलाई पटक पटक आन्दोन गर्ने अवस्थामा हामीले नपुर्याउ भनेर एकै पटकमा टुङ्ग्याउने कुरामा आफू रहेपनि उहाँहरू राजनीतिक हिसाबले आग्रह राखेको र केही केही राजनीतिक लाभ पनि हेरेको पाएको बताइन ।
यसैगरी ७ बुँदा तयार गर्दा एउटा बुँदामा अर्थमन्त्री र प्रधानमन्त्रीको सहमतिमा विद्यालय कर्मचारीलाई २३ हजार ५ सय न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको र त्यसै अनुसार जाने तयारी रहेको उनको भनाई छ । तर सात बुँदा मध्ये लामो बुँदाबाट निकालेर त्यसैलाई नौँ बुँदा बनाइएको र पछि विद्यालय कर्मचारीहरूलाई तोकिए बमोजिम भएर जाने भन्ने आएको बताइन ।
यसबारे खबर एजुकेशनले गरेको संवाद भिडियो छिटै प्रसारण गरिने छ ।



