काठमाडौँ /१३ जेठ – हिमालयन कलेज अफ एग्रिकल्चरल साईन्सेज एण्ड टेक्नोलोजि (हिकाष्ट)ले रजत जयन्ती मनाएको छ । बानेश्वरको एउटा कोठाबाट १५ जना विद्यार्थी सहित सुरुवात गरेको कलेजले २५ वर्ष पुरा गरेसँगै रजत जयन्ती मनाएको हो ।
२५ वर्ष पहिला कृषि अध्ययन गर्ने चाहाना भएका विद्यार्थी विश्वविद्यालयको कोटा भरिएपछि पढ्न नपाउने परिस्थिति रहेको र त्यसको अन्त्य गर्ने उदेश्यले भक्तपुरको गठ्ठा घरमा कलेज सञ्चालनमा ल्याइएको कलेजले अहिले कीर्तिपुरमा आफ्नै भवन निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको जनाएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको कलेजबाट १६ हजार भन्दा बढी विद्यार्थीले ग्राजुएसन गरिसकेको जानकारी दिँदै कुनै पनि विद्यार्थी बेरोजगार बस्नुपर्ने अवस्था नरहेको कलेजको दाबी छ । साथै अबको १० वर्षमा अन्तर्राष्ट्रिय स्तरमा कलेजलाई विस्तार गर्ने योजना रहेको जनाएको छ ।
कुनै समय पढाउने शिक्षक पनि विदेशबाट ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै हिकाष्टबाट अध्ययन पुरा गरेका अधिकांश विद्यार्थीहरू सरकारी सेवा तथा कृषि र पशुको क्षेत्रमा रहेका छन् ।
उक्त अवसरमा कलेजले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो भने विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो ।



