काठमाडौँ /१२ जेठ – त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा शिक्षाविद् केदार भक्त माथेमाले विश्वविद्यालय भनेको एकेडेमिक्सहरूको गणतन्त्र भएकोले बाहिरबाट कसैले हस्तक्षेप गर्न नहुने बताएका छन् । नेपाली काँग्रेस शिक्षा विभागले आज राजधानीमा आयोजना गरेको उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
के पढाउने, कसरी पढाउने र पढाएको कुरा कसरी मुल्याँकन गर्ने भन्ने जस्ता नितान्त विश्वविद्यालयको कुरा भएकोले यसमा हस्तक्षेप गर्न नहुने धारणा व्यक्त गरे । उनले आफू उपकुलपति हुँदा प्रधानमन्त्रीबाट कहिल्यै पनि हस्तक्षेप नगरेको उदाहरण दिँदै विश्वविद्यालयको ओनरसिप सरकारमा नहुने बताए । यसैगरी ओनरसिप विश्वविद्यालयकै हुनुपर्ने बताउँदै यसका लागि बोर्ड अफ ट्रस्टलाई अगाडी बढाउनुपर्ने धारणा व्यक्त गरे ।
अहिले विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको र कसैले दुःख खोजेको हो भने उपकुलपति हुन जानु भन्ने जस्तो अवस्था आएको उनको भनाई छ । यसका लागि सरकारले लागनी र वातावरण सिर्जना गरेर सबै विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टमा लैजानुपर्ने बताउँदै विश्वविद्यालय हस्तक्षेप मुक्त हुनुपर्नेमा जोड् दिए ।
विश्वविद्यालयले सम्बन्धन धेरै बाढदा समस्या आएको उल्लेख गर्दै अबका विश्वविद्यालय खोल्दा कस्तो खोल्ने, कतिवटा खोल्ने, कहाँ कहाँ चाहिन्छ योजना बनाएर मात्रै अगाडी बढ्न आवश्यक रहेको उनको भनाई थियो । साथै नेपालमा निजी विश्वविद्यालयको पनि खाँचो रहेको बताए ।



