काठमाडौँ/१२ जेठ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले विदेश अध्ययनमा गएका विद्यार्थीको ट्र्याकिङ गर्नपर्ने बताएका छन् । उनिहरूलाई नेपाल फर्काउनका लागि, विदेशमा कस्तो अवस्थामा के गरिरहेका छन् हेर्नका लागि, नेपालको लागि के योगदान गर्छन् भन्ने हेर्न र असहज परिस्थितिमा सहयोग गर्नका लागि ट्र्याकिङ गर्नपर्ने बताएका हुन् ।
शर्माले दूतावास मार्फत विद्यार्थीको रेकर्ड राख्नुका साथै ट्र्याकिङ गर्नपर्ने बताए । विद्यार्थीलाई विदेश पठाउनुअघि अभिभावकले एक पटक सोच्न आवश्यक रहेको बताउँदै बच्चाले विदेशमा गएर त्यहाँ राम्रो गर्न सक्छ कि सक्दैन भन्ने कुरामा ध्यान दिन आग्रह गर्का छन् ।
विगतमा एउटा मात्र विश्वविद्यालय रहेकोमा अहिले सरकारले धेरै विश्वविद्यालयलाई अनुमति दिएको उल्लेख गर्दै नेपालभित्र पनि सम्भावनाहरू रहेको त्यसलाई उजागर गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भने ‘विश्वविद्यालय खोल्नुको उद्देश्य कक्षा १२ पास गरेका विद्यार्थीलाई नेपालमै राख्ने योजनासँग जोडिनुपर्छ । विदेशी विद्यार्थीलाई आकर्षित गर्न नसकेको अवस्थामा, नेपालभित्रै उच्च शिक्षाका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ । नेपालमा धेरै सम्भावना भए पनि, ती सम्भावनालाई खोज्ने विद्यार्थीलाई उच्च शिक्षामा आकर्षित गर्नुपर्छ । यसका लागि विश्वविद्यालयहरूले विद्यार्थीलाई आवश्यक पर्ने कुराहरू दिन सक्नुपर्छ र विश्वको परिवेश अनुसारका विषयहरू पढाउनुपर्छ । विदेशमा नयाँ विषय पढ्न जाने विद्यार्थीलाई रोक्न नसके पनि, उनीहरूलाई ज्ञान र सीप सिकेर नेपाल फर्काउन सक्ने वातावरण बनाउनुपर्छ ।’
यसैगरी कक्षा १२ मा पढ्ने विद्यार्थीको सङ्ख्या नघटेको तर, उनीहरूलाई नेपालमै राख्न विदेशी विश्वविद्यालयमा जस्तै व्यवस्थापन र नयाँ विषयहरू नेपालका विश्वविद्यालयले दिनुपर्नेमा जोड् दिए । विदेशमा विद्यार्थीले पढ्दै कमाउने अवसर पाउँछन् भने नेपालमा पनि त्यस्तै अवसर सिर्जना गर्नुपर्छ । यस्तो नीति बनाउन नेपाल सरकार र विश्वविद्यालयहरूले सहकार्य गर्नुपर्छ उनले भने ।



