पानले जेठ २३ र २४ गते सम्मेलन गर्दै, सामुदायिक विद्यालयमा रूपान्तरण ल्याउने आशा

काठमाडौँ /५ जेठ – प्रधानाध्यापक संघ नेपाल ९पान०ले दोस्रो राष्ट्रिय शिखर सम्मेलन जेठ २३ र २४ गते पोखराको सभागृहमा आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष फरक फरक प्रदेशमा थीम आधारित राष्ट्रिय सम्मेलन आयोजना गर्ने नीति अनुरूप यो वर्ष पनि गर्ने भएको हो ।


पोखरामा हुने सम्मेलनबाट शिक्षामा नेतृत्वको नयाँ दृष्टिकोण र कार्यदिशा विकास गर्न सहयोग गर्ने र सामुदायिक विद्यालयमा रूपान्तरण ल्याउनका लागि भूमिका खेल्ने आशा गरिएको पानका अध्यक्ष सुदाम गौतमले बताए ।


गौतमले राष्ट्रिय सम्मेलनमा अधिकारका कुरा भन्दा पनि विद्यालयमा रूपान्तरण गर्न, राम्रा विद्यालयलाई अगाडी ल्याउन, प्रधानाध्यापकले गरेका असल अभ्यासलाई एक अर्काबाट सिक्न र उत्तरदायी बनाउनका लागि सम्मेलननको आयोजना गरिएको जानकारी दिए ।


साथै सम्मेलनमा प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुखहरू, विदेशी प्रतिनिधिहरू, विद्यार्थी, अभिभावक, नीति निर्माता गरेर एक हजार भन्दा बढीको सहभागिता हुने बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा २८ वटा सेसन राखिएको छ ।


पान अर्वाड २०८२


यसैगरी पान अर्वाड २०८२ आयोजना गर्ने भएको छ । प्रत्येक प्रदेशबाट एक एक आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय, प्रत्येक प्रदेशबाट एक एक जना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अर्वाड प्रदान गर्न लागेको प्यानका अध्यक्ष सुदाम गौतमले जानकारी दिए ।


शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरिएको थियो । निष्पक्ष, स्वतन्त्र मापदण्डमा आधारित रहेर विज्ञहरूले छनोट गरेका प्रधानाध्यापक, विद्यालय र पालिकालाई सम्मान गर्न लागिएको पानले जनाएको छ ।


छनोट समितिले देशभरिका विद्यालय, पालिका तथा प्रधानाध्यापकहरूबाट अफलाइन, अनलाइन आवेदन माग गरेको र आवेदन परेका मध्येबाट प्राप्त सिफारिस, तथा समितिले सङ्कलन गरेका विवरणहरूलाई आधार बनाई २५ वटा मापदण्डमा आधारित रहेर छनोट गरिएको जनाइएको छ ।