विद्यालय शिक्षा विधेयक : उपसमितिमा के-केमा जुट्यो सहमति, के-के बाँकी छ ?

काठमाडौँ /३ जेठ – विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति द्वारा गठित उपसमितिले ४५ दिन लगाएर प्रतिवेदन तयार पारेको छ । शुक्रवार प्रतिवेदनमा हस्ताक्षर गरेका उपसमितिका सदस्यहरूले सहमति जुट्न नसकेका विषयमा समितिमै लगेर छलफल गर्नुपर्ने निष्कर्ष सहित आइतवार प्रतिवेदन बुझाउँदै छन् ।


उपसमितिका एक सदस्यका अनुसार धेरै विषयमा सहमति जुटेपनि निजी विद्यालयको गुठीको सवाल, इसिडि शिक्षकको सवाल र एसईई परीक्षाको सवाल लगायत केही विषयमा सहमति जुट्न बाँकी रहेको बताए । सदस्यका अनुसार सहमति नजुटेका विषयलाई प्रतिवेदनमा नलेखिएको र प्रतिवेदन बुझाउँदा पत्र पनि बुझाईने भएकोले सहमति नभएका विषय पत्रमा लेखिने जानकारी दिए ।


साथै पछिल्लो अवस्था अनुसार उपसमितिले तयार पारेका प्रतिवेदनका धेरै बुँदाहरू समितिमा गईसकेपछि परिवर्तन हुन सक्ने सम्भावना रहेको ति सदस्यको भनाई छ ।


सहमति जुट्न नसकेको गुठीको सवाल


अधिकांश सांसदहरूले निजी विद्यालयलाई गुठीमा लैजाने सहमति गरेपनि शिक्षा मन्त्रालयका कारण सहमति जुट्न नसकेको ती सदस्यले बताए । त्यसैले निजी विद्यालयलाई गुठीमा लैजाने वा नलैजाने भन्ने सवाल समितिबाटै टुङ्गो लगाउने गरी उपसमिति अगाडी बढेको छ ।


उनले भने ‘गुठीको सवालमा हामीले प्रतिवेदनमा केही लेखेका छैनौँ । समितिमै छलफल गर्छौ, यो कुराहरू संयोजकको पत्रमा आउँछ । अहिलेको नयाँ मन्त्रीले त एसेप्टै गर्नुभएन । त्यो कुरामा मन्त्रालयसँग सहमति जुट्नै सकेन, किनभने हामीले तीन जना मन्त्रीसँग काम गर्दा दुई जना मन्त्रीले सहमति जनाएको कुरा लास्टको मन्त्रीले उपसमितिले गरे पनि समितिले उल्टाउने सक्छ भनेर बोल्नु भएको छ । ईसीडी र निजी विद्यालयको बारेमा पूर्व शिक्षामन्त्रीसँग उपसमितिले एक तहमा टुंग्याइसकेको थियो । निजीको बारेमा पनि गुठीमा लैजाने विषयमा सबै सांसदहरू एक लाइनमै भएपनि शिक्षा मन्त्रालयले नै मानेन ।”


अहिलेका शिक्षा मन्त्रीले सांसदहरूको एउटै राय हुँदा पनि निजी विद्यालयलाई गुठीमा लैजाने भन्दा पनि अहिले जे छ त्यसलाई लिएर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरेको ति सांसदले बताए ।


प्रधानाध्यापकको दरबन्दी


प्रधानाध्यापकको दरबन्दीको सवालमा यस अघिका शिक्षामन्त्रीले सहमति जनाएर सकिएको विषयमा अहिलेका शिक्षा मन्त्रीले हुँदैन भनेपछि त्यस विषयमा रोस्टर बनाएर जाने सहमति भएको बताए । तर रोस्टर बनाएर गएपनि दरबन्दी सिर्जना गर्न सकिन्छ भनेर जाने सहमति भएको उनको भनाई छ । त्यसो गर्नुको कारण पछि कुनैपनि मन्त्रीले गर्न चाह्यो भने बाटो खुल्छ भन्ने रहेको बताए ।


साथै प्रधानाध्यापकको सेवा सुविधाका सवालमा तोकेरै जानु पर्ने भनिए पनि तोकेर जाँदा सेवा सुविधा बढी दिनुपर्ने अथवा केही कुरा मिलेन भने ऐन नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने भएकोले तोकिए बमोजिम हुनेछ भनेर उल्लेख गरिएको र सुविधा दिनुपर्छ भनेर मात्रै प्रतिवेदनमा लेखिएको बताए ।


बालविकासलाई आधारभूत तहमा राख्ने सहमति


बालविकासलाई आधारभूत तहमा राख्ने सहमति जुटेको छ । कक्षा ८ सम्म बालविकास सहित भनेर राखिएको सदस्यले बताए । तर बालविकास केन्द्रमा काम गर्ने शिक्षकहरूको लागि चाहिने वृत्ति विकासको विषयमा सरकारले नमानेको ति सांसदले बताए । यस विषयमा पनि पूर्व शिक्षा मन्त्रीसँग टुङ्ग्याइ सकिएको थियो ।


उनले भने ईसीडीको विषयमा हामीले परिभाषामा आधारभूत शिक्षाको परिभाषा गरेका छौँ । कक्षा ८ सम्म बालविकास सहित भनेर राखिएको छ । तर बालविकास केन्द्रमा काम गर्ने शिक्षकहरूको लागि चाहिने वृत्ति विकास सरकारले मानिरहेको छैन । त्यो पाटो छुटेको छ ।


त्यसैगरी इसिडीलाई दुई वर्षको बनाइने र नेपाल सरकारले जुन बेला लागु गर्छ त्यति बेला लागु हुनेछ भनेर प्रतिवेदनमा उल्लेख भएको उनको भनाई छ ।


‘बाल विकासको सवालमा अघिल्लो मन्त्रीहरूले सहमति गरिसकेको कुराहरू तर पछिल्लो मन्त्री आएर कुरा फेर्नु भएको छ । यसमा हामीले अहिलेसम्म ईसीडीलाई डेकेयर सेन्टरको रूपमा हामीले परिभाषित गरिरहेका छौँ, त्यो गलत हो, ईसीडीमा लगानी गर्यो भने हाम्रो बच्चाहरूको फाउन्डेसन स्ट्रङ हुन्छ, ईसीडी दुई वर्ष भन्यो भने यो निजीले जुन चार वर्ष ईसीडी चलाइरहेका छन् त्यो त चलाउन पाउँदैन, पाठ्यक्रम पनि एउटै हुन्छ, त्यही कुरा सरकारलाई समस्या भएको छ’ उनले भने ।


६० प्रतिशत पदमा आन्तरिक प्रतिस्पर्धा


अस्थायी शिक्षकहरूलाई ६० प्रतिशत पदमा आन्तरिक प्रतिस्पर्धा गराईने र ४० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ । यो विषय समितिमा निकै छलफल भएको र अन्तिममा आएर ६० ४० मा सहमति भएको उपसमितिका सांसदको भनाई छ ।


अस्थायी शिक्षकहरूसँग आन्तरिक परीक्षा लिएर स्थायी गर्ने भन्ने सवालमा सरकारले शिक्षकहरूसँग सहमति गरेर ७५ २५ गर्ने अनि शिक्षकहरूसँग सांसद मानेनन भनेर झुट नबोल्न मन्त्रालयलाई भनेपछि उक्त सहमतिमा पुगिएको उनले जानकारी दिए ।
परीक्षाबाट पदपूर्ति नभएको दरबन्दीमा त्यति नै बेला खुला प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय भएको उनको भनाई छ । जति प्रतिशत राखेर परीक्षा लिएपनि फुलफिल हुन नसकेको वा खालि भएको कोटामा खुला बाट पदपूर्ति गरिने प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए ।


उनले भने ‘के लेखिएको छ भने आन्तरिकबाट ६० ४० को रेसियोमा आउँछ, तर ६० प्रतिशत जुन गर्ने भनिएको छ त्यसमा पास गर्न सकेन, गुणस्तर पुगेन भने त्यो तत्काल खुलाबाट ल्याउने भनेका छौँ । किनभने मौका पनि दियौँ तर मौका दिएपछि पास गर्न सकेन भने बच्चाहरूलाई बन्धकमा नराख्ने भन्ने हो ।’


तर लामो समयसम्म पढाएर पास गर्न नसकेकाहरूलाई बिदा के गर्ने भन्ने विषयमा प्रतिवेदनमा केही नलेखिएको र नियमावली वा कुनै मापदण्ड बनाएर व्यवस्था गर्न सकिने बताए ।


एसईईको सवाल अन्योलमै
अनिवार्य तथा निःशुल्क शिक्षा २०८५ बेञ्चमार्क भएकोले त्यसैलाई आधार मानेर जाने र एसईईलाई पनि त्यतिन्जेलसम्म खारेज गरौँ भन्ने छलफल भएकोमा पछिल्लो समय आएर सहमति जुट्न नसकेपछि यस विषयलाई समिति मै लगेर छलफल गर्ने उपसमितिने निर्णय गरेको ति सांसदले जानकारी दिए ।


एसईईको बारेमा उपसमितिले कुनै निर्णय गर्न नसकेको बताउँदै समितमा नै गएर छलफल गर्नुपर्ने निर्णय गरिएको छ । यो विषय प्रतिवेदनमा उल्लेख नगरिएको बताउँदै प्रतिवेदनसँगै बुझाईने पत्र समावेश गरिने जनाए । यसलाई अझै परिष्कृत गर्न छलफल गर्न बाधा हुने छैन मात्रै लेखिएको जानकारी दिए ।


शिक्षक महासङ्घका पदाधिकारी काजमा बस्न नपाउने


उनले एउटा गैरदलीय शिक्षकहरूको लागि चाहिन्छ भनेर ट्रेड युनियन भन्दा पनि पेसागत युनियन राख्ने सहमति भएको बताए ।


ट्रेड युनियन हुनको लागि नेपाल सरकार, कम्पनीको मालिक अनि कामदार हुन्छ, त्यो शिक्षक कर्मचारीमा लागु हुँदैन । शिक्षक कर्मचारीहरूको हकमा त्यो शब्द लागु गर्न मिल्दैन । तर हामीले के चाहिँ लेखेका छौँ भन्दाखेरि आचरणमा राजनीतिक दलको सदस्यता लिनुहुँदैन, राजनीतिक क्रियाकलापमा जानु हुँदैन लेखेका छौँ । पहिलाको शिक्षा ऐनमा कार्यकारिणी पदमा हुनुहुँदैन भन्ने थियो, तर कार्यकारिणी पदमा छ कि छैन ? भनेर जाँच्ने आधार थिएन, त्यसैले अहिले राजनीतिक दलको सदस्यता लिनैहुन्न भनेर लेखेका छौँ ।


यसैगरी नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले काजमा बसेर नपढाउने परम्परा रहेकोमा अब देखि कक्षा कोठामा जानै पर्ने भएको छ । साथै प्रअहरू महासङ्घको पदाधिकारी र सदस्य हुन नपाउने प्रतिवेदनमा उल्लेख गरिएको बताए ।


शिक्षक सरुवा


शिक्षक सरुवाको सवालमा उपसमितिले अन्तरपालिका मापदण्ड बनाएर पालिकाले सरुवा गर्न सक्ने भएपनि आस्थाका भरमा, सनकको भरमा सरुवा गर्न नपाईने गरी ऐनमा व्यवस्था गर्न लागिएको बताए । त्यसमा दुई वर्ष कुनै पनि शिक्षकलाई सरुवा गर्न नपाईने, शैक्षिक सत्रको बिचमा सरुवा गर्न नपाईने प्रतिवेदनमा नै लेखिएको बताए ।


अन्तरपालिका अथवा अन्तरप्रदेश बिच हुने सरुवाको सवालमा जति सकिन्छ त्यति कडाईका साथ गर्नुपर्ने भनिएको र यस विषयमा एक पटक पुन समितिमा पनि छलफल हुने उनको भनाई छ । यस सवालमा सांसदहरूको धारणा र प्रतिवेदनमा लेखिएको अलिअलि फरक भएकोले समितिमा छलफल हुने जानकारी दिए ।


उनका अनुसार प्रतिवेदनमा एउटा पालिकाबाट अर्को पालिकामा शिक्षक सरुवा गर्दा सहमति हुनुपर्ने, तर त्यो पनि पाँच वर्ष नभई सरुवा गर्न नमिल्ने उल्लेख गरिएको जानकारी दिए । यसैगरी कुनै पनि शिक्षकलाई अन्तरप्रदेश सरुवा गर्दा सात वर्ष नभईकन चलाउन नपाईने प्रतिवेदनमा समावेश छ । तर कसैको स्वास्थ्य खराब भयो, उसलाई घरमै बस्नुपर्यो अथवा कडा रोग लाग्यो, नियमित अस्पताल गएर उपचार गर्नुपर्यो भने त्यस्तो बेलामा सरुवा गर्न सकिने छ ।


विद्यालय कर्मचारी


यस सवालमा निकै छलफल गर्नुपरेको बताउँदै साना साना विद्यालयहरूमा एउटै लेखापालले पनि चारवटा विद्यालयमासम्म काम गर्न सक्ने देखिएकोले त्यो विषय पालिकाहरूलाई नै छोडिदिनुपर्ने भन्दै पालिकालाई नै छोडिएको ति सदस्यले बताए ।


प्रतिवेदनमा दरबन्दीको व्यवस्था गर्ने भन्ने खालको शब्द उल्लेख गर्नुभएन ? भन्ने खबर एजुकेशनको प्रश्नमा त्यो स्थानीय तहको सरकारले नै व्यवस्थापन गर्नुपर्ने भनेर प्रतिवेदनमा लेखिएको जानकारी दिए ।


विद्यालय कर्मचारीको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय भएको र आवश्यकता अनुसार स्थानीय तहले विद्यालयमा कर्मचारी राख्न पाउने भन्ने सहमति भएको उनको भनाई छ ।