झापा/३१ बैशाख – झापा जिल्लाको गौरादह नगरपालिकामा राष्ट्रिय परीक्षा बोर्ड द्वारा हाल सञ्चालन भैरहेको कक्षा १२ को बोर्ड परीक्षा दिइरहेकी श्री डोरामारी माध्यमिक विद्यालय गौरादह ४ कि छात्रा सिमा राजवंशीलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गौरादह नगर कमिटीले नगर सदस्यमा निर्वाचित गराएर विद्यार्थीलाई राजनीतिमा लाग्न लगाइएको खबर प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार यही बैशाख २७ गते गौरादह नगरपालिका वडा न. ८ को वडा कार्यालयमा आयोजित शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा निज विद्यार्थी सहित सम्पूर्ण निर्वाचित नगरकमिटि सदस्यहरूलाई प्रमाणपत्र सहित सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् युवा नेता रञ्जित तामाङले निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र द्वारा सम्मान गरेका थिए ।
बोर्ड परीक्षा चलीरहेकै अवस्थामा विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने समयमा विद्यार्थीहरूलाई राजनैतिक गतिविधिमा सहभागी गराउन सान्दर्भिक नहुने धेरैको भनाई छ । पछिल्लो समय शिक्षाको गुणस्तर खस्किएको भन्दै एकातर्फ आम सर्वसाधारणले शिक्षक र शिक्षाकर्मीहरू माथि विभिन्न किसिमका राजनैतिक आरोप प्रत्यारोपण लगाउने र त्यस्ता आरोपहरू शिक्षकहरूले खेपिरहनु परेको अवस्था पनि छ । तर अर्कोतर्फ विद्यालय उमेरका विद्यार्थीहरूलाई विभिन्न पार्टीगत राजनीति दलमा आबद्ध गराउनुले शिक्षालाई राजनीतिक दलबाट पर राख्नु पर्छ भन्ने विषय असम्भव जस्तै देखिएको छ ।



