काठमाडौँ /३१ बैशाख – २०८१ फागुन महिनाको अन्ततिर हुनुपर्छ, यस्तै १८ देखी २० मार्चको बीचतिर ।अफिसकै काममा थिएँ, चिनजानकै एकजना सरले दिउसो फोन गर्नु भयो । फोनको विषय थियो – समय मिलाउने । सरले मसँग केही घण्टा समय माग्नु भएको थियो । उहाँले आफ्नो शिक्षालय राम्रैसँग चलाउनु भएको हुनाले उहाँप्रति आदर भाव छ ममा ।
त्यही सरको आग्रहलाई, बिना प्रश्न, मैले सहज रूपमा हुन्छ भने । किनकी जिन्दगीको यात्रामा भेटिएका कतिपय पात्रहरूले गरेको अनुरोधमा थप प्रश्न हुदैनन् । प्रश्न गर्न आवश्यक पनि ठानिदैन् रहेछ । तहाँ केवल थियो त, विश्वास र आदर्श । सरसँगको संवादमा पनि यही विश्वासले काम गर्यो ।
मैले सरको आग्रहलाई स्वीकार गरेर मात्र विषयका बारेमा सोधेँ – सर, विषय के होला ? गर्नुपर्ने के हो ?
शिक्षक अभिभावकसँग अन्तरक्रिया गर्ने – सरले विश्वासका भावमा आफ्नो भनाइ राख्नु भयो । उहाँलाई पक्कै पनि विश्वास थियो, यसले मेरो आग्रहलाई बेवास्ता गर्दैन भन्ने । कत्रो विश्वास ?
मलाई लाग्छ व्यक्ति व्यक्ति बीचको यही विश्वासमा समाज हिँडेको छ, संसार अडेको छ । सरलाई उहाँले भनेको मितिमा आउँछु भनेँ । अर्थात् हुन्छ भनेँ ।
तर के विषयमा बोलौँ भन्नेमा बडो द्विविधा भयो । इन्टरनेटको दुनियाँमा केही खोजेर लेखौँ वा बोलौँ भने पनि अब नयाँ नहुने भइसक्यो । जब नयाँ केही पनि छैन भने के बोल्ने ? अनि किन बोल्ने ? पुराना कुरा दोहो¥याइरहनेहरूको कमी त छैन यहाँ । तर मलाई चाहि पुराना कुरा दोहो¥याउन मन लागेन ।
अहिले एआईको जमाना छ, परिश्रम गरेमा नपाइने केही भएन । लगाव चाहिन्छ, सबै विषय पाउन सकिन्छ भर्चुअल दुनियाँमा । केही महिना अघिसम्म त मानवले झैँ सोच्ने शक्ति एआईले देखाउन सक्दैन भन्थे । तर केभिन रूजले मार्च २०२५ को द न्यूयोर्क टाइम्स इन्टरनेशनल एडिसनमा एआइको भर्सन ४ ले मानव भन्दा पनि अगाडि सोच्न सक्छ भनेर लेखे ।
वीनर डजनट ह्याभ एक्स्क्यूवेज बट लुजर ह्याभ सो मेनि एक्स्क्यूवेज भनेझैँ विनर हुने चाहना र सो बमोजिमको परिश्रम भएमा चाहेको विषय मोबाइल वा कम्प्युटरका स्क्रीनमा आउनसक्छ । प्रविधिले नसोचेको विकास गर्यो हाम्रै पालामा । मलाई बोल्न भनिएको स्थानका शिक्षक साथीहरूले चाहेमा मैले खोजेर पाउने विषयवस्तु सजिलै पाउन सक्ने अवस्था छ ।
अहिले त प्रविधिले सामाजिक सञ्जालमा सूचनाको बाढी नै ल्याएको पनि छ । यी मध्ये कति सूचना होलान र कति त अफवाह पनि हुनसक्छन् । अब त यस बाढीबाट केवल आफूलाई चाहिएको मात्र छनौट गर्ने सीप र क्षमता चाहिन्छ । अबको जमाना कसैले केही दिएर भन्दा पनि आफैले खोजेर पाउनेमा पुगिसक्यो । खोजी गर्ने चाहना चाहि भइरहन पर्यो । जति बेला चाह्यो त्यति बेला खोज्दा पनि हुने भयो । अब जम्मा गरेर राखिराख्नु पर्दैन् । युवल नोहा हरारीले ट्वेन्टी फस्ट सेन्चुरी फर ट्वेन्टी फस्ट लेसन भन्ने पुस्तकमा इफ यू वान्ट टु रन फास्ट डन्ट टेक हेवी लगेज त्यसै भनेका होइनन ।
हामी कहाँ बोल्ने खाँचो पनि छैन । बोल्नेको भिड नै छ भन्दा हुन्छ । सामाजिक सन्जाल या अन्यत्रका फोरममा बोल्नका लागि प्रतिस्पर्धा नै छ । सुन्न चाहने के कति छन तर बोल्न चाहने बढेकै छन । कतै गएर बोल्दा आफूलाई पनि यसै श्रेणीमा राख्छन कि भन्ने चिन्ता पनि लाग्न थालेको छ ।
तर यस अवस्थामा, किन हो थाहा भएन, मलाइ चाहि कम बोल्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । अहिले आएर बल्ल बुझ्दै छु कि पानीले आधा भरिएको गाग्री छचल्किन्छ अर्थात् आवाज निकाल्छ भन्ने उखान हाम्रा पुर्खाले किन प्रयोगमा ल्याएका रहेछन भनेर । कम बोल्न मन पर्नुको कारण पनि यस्तै यस्तै हो । मलाइ जस्तै अनुभव यहाँहरूलाई पनि भएको हुनसक्छ ।
ऋषि मुनीहरू घण्टौँ नबोलेर किन बिताएका होलान भनेर अनुमान गर्दैछु । जोर्डन बि पिटरसनले ट्वेल्भ्स रूल फर लाइफ भन्ने पुस्तकमा बि प्रिसाइज योर स्पिच भनेर मानिसको जीवनका लागि चाहिने १२ ओटा नियममध्ये एउटा नियम भनेर लेखेका छन् । यसको आशय छ – छोटो र चाहिने मात्र बोल धेरै सुन । धेरै बोल्नै पर्दैन ।
यसो बिचार गरौँ त हामीले दिनभरमा गरेका कन्भरसेसनहरू के कति मात्रामा आवश्यक र सान्दर्भिक हुन्छन होला ? यसो बेलुका घरमा गएर सुत्नु अघि आफैले दिनभरमा बोलेको विषयका बारेमा मनन गर्दा कस्तो चित्र आउँला ? मलाइ त यी यी विषयमा नबोलेको भए पनि हुने रहेछ भन्ने आभास हुन्छ । शायद यहाँहरूलाई पनि यस्तै लाग्ला । अहिले बोलेको भन्दा कम बोले पुग्छ हामी मध्ये अधिकलाई ।
जिन्दगीको अहिले सम्मको यात्राबाट मैले बुझे–बोलेर मात्र नहुने रहेछ । काम गर्नै पर्ने रहेछ । तर विगतमा कतिपय सन्दर्भमा अधिकार जनाएर पनि बोलियो होला । बोल्न कै लागि पनि बोलियो होला । कतिपय स्थानमा त अझ उपस्थिति जनाउनकै लागि पनि बोलियो होला । तर अहिले धेरै सुन्न र कम बोल्नु पर्दा आनन्द लाग्छ । बोल्ने विषयवस्तु नभएर होइन कि बोल्नुको सार्थकता खोज्न मन लागेकोले बेकार किन बोल्नु जस्तो लाग्न थालेको छ ।
सरलाई आउँछु केही बोल्छु भनेपछि केही न केही त बोल्नै पर्यो । अनि सोच्न थालेँ । सुरु कहाँबाट गरौँ भनेर ।
सुरु सुरुमा यस्तै कार्यक्रममा बोल्नु पर्दा इन्टरनेटमा सामग्री खोज्यो, ठूला ठूला सैद्धान्तिक विषय ल्याएर प्रस्तुति गर्यो,अनि काम सकियो भन्ने सोचमा पनि हुन्थेँ। किनकी त्यहाँ बोले पुग्थ्यो । शायद उक्त समयमा धेरै सुन्नु पर्छ भन्ने ज्ञान कम थियो होला ममा । आफू धेरै बोलेपछि सहभागीहरूले प्रश्न गर्नै मौका कम पाउँथे । केहीगरी कसैले प्रश्न गरिहाले यसो उसो भनेर उम्कने बाटो भइहाल्थ्यो ।
तर अहिले त्यसो गर्न पनि मन लाग्दैन ।
अब अनुमान होइन कि अनुभव शेयर गर्छु भन्नेमा पुग्दैछु । थाहा पाउँदैछु अनुभव र अनुमानमा धेरै फरक रहेछ । हामी जून दिन देखी अनुभव सुन्न छाडेर अनुमानमा मात्र रमाउन थाल्यौँ । अवस्था त्यहीँबाट बिग्रन थालेछ । अनुभव व्यवहारिक हुने रहेछ । विगतबाट सङ्ग्रहित र परिमार्जन हुदै आउने रहेछ । तर अनुमान हुन सक्छ भन्ने मान्यतामा आधारित हुने रहेछ ।
अहिले म आफ्ना अनुभवका आधारमा थप निर्णय गर्दै जानु पर्छ भन्ने मान्यता राख्दछु । सबैका अनुभव उत्तिकै महत्वपूर्ण हुन सक्ने रहेछन् । यहाँ रहेका समस्याहरू समाधान गर्न यहाँकै अनुभव महत्वपूर्ण र सान्दर्भिक हुन्छन् । अझ पूर्वीय दर्शनमा आधारित मत र विचारबाट सृजना भएका अनुभवको महत्व त जीवनमा अर्कै हुनेरहेछ,अहिले बुझ्दैछु । कसी लगाउनै नपर्ने सुनजस्तो ।
हामी कहाँ यहाँ समस्या पनि छन र अनुभव पनि छन् । मात्र यीनको संयोजन गर्ने व्यक्तिको खाँचो हुनसक्छ । समाधानका उपाय बाहिर वा अन्यत्रबाट खोजेर हुने होइन रहेछ । हाम्रा समस्या त हामी आफैले समाधान गर्ने रहेछ ।
हाम्रा समस्या र समाधानका बीचमा कसैले संयोजन गरेर थप सजिलो बनाउन चाहि सक्ने रहेछ । यो संयोजन गर्नमा पनि विभिन्न उपाय उपयोगी हुनसक्ने रहेछन् । सोमध्ये यस्तै अन्तरक्रिया गर्ने उपाय चाहि एउटा वस्तुगत र सार्थक उपाय हो । त्यही भएर होला सरले समय समयमा यस्ता अन्तरक्रिया राखेको देख्छु । यसलाई उहाँले राम्रैसँग मनन गर्नु भएको हुनसक्छ ।
सिस्टमभन्दा बाहिरका व्यक्तिसँग समय समयमा गरिने अन्तरक्रियाको धेरै फाइदा हुछ भन्छन विज्ञहरू । यो खुला प्रणाली कि बन्द प्रणाली भन्ने विषयसँग सम्बन्धित रहेछ । संगठनले २ ओटामध्ये कुनै पनि सिस्टम अँगाल्न सक्छ भनेर पढ्दा सो समयमा यसका बारेमा बुझ्न सजिलो लागेको थिएन। खुला प्रणाली र बन्द प्रणाली । यसलाई बुझ्न धेरै नै मेहनत गर्न परेको थियो सो समयमा ।
एउटै संगठनमा काम गर्नेहरूलाई सो भन्दा बाहिरका इलिमेन्ट, पार्टस एवम् सिस्टमसँग अन्तरक्रिया गर्ने प्रणाली नै खुला संगठन रहेछ। यसका धेरै विशेषता हुँदाहुँदै पनि केही अवगुण छन नै । धेरै लाभका लागि राम्रो तयारी चाहिन्छ ।
मेरो बुझाइमा सरले खुला संगठन र खुला प्रणालीलाई अँगालेर नै यस्ता अन्तरक्रिया गराउनु भएको हुनसक्छ । यस्ता कार्यक्रममा अहिले मात्र नभएर विगतमा पनि म जोडिएको थिएँ । मजस्तै अरू धेरै पनि पक्कै जोडिनु भएको छ होला । यस्ता कार्यले अनुभवको बीचमा संयोजन गर्नसक्छ । संगठन भित्रका साथीहरूमा अरूले गर्न सक्छन भने मैले किन नसक्ने भन्ने भावना जगाउन सहयोग पुग्छ भन्ने लाग्छ मलाई त ।
यीनै सन्दर्भमा अब मैले मेरा केही अनुभव यहाँहरू समक्ष राख्न चाहन्छु । यसले यहाँहरूलाई पनि आफ्ना अनुभवसँग जोडन सहयोग पुग्न सक्छ । अहिले आफू जोडिएका केही असजिलाहरू घटाउन सहयोग पुग्छ भन्ने विश्वास मैले गरेको छु ।
पहिलो, कुनै विद्वान्ले भनेका थिए– मानिसले बुझ्नका लागि सुन्नु पर्छ न कि प्रतिक्रिया जनाउनका लागि वा बोल्नकै लागि। यसमा गहिरो दर्शन रहेछ । यसो मनन गरौँ त हामी कति मात्रामा अरूको भनाइ बुझ्नका लागि सुनिरहेका हुन्छौ ? यसलाई मनन गर्दै गर्दा कम बोल्दा पनि पुग्ने रहेछ भन्ने लाग्यो। यसो गर्न सके त धेरै समस्याको समाधान हुनसक्ने रहेछ । कक्षाकोठामा कम बोल्दा पुग्ने रहेछ । तर आफू कम बोलेर विद्यार्थीलाई बढि बोल्ने बनाउनका लागि तयारी र मेहनत दुवै चाहिने रहेछ ।
दोस्रो,यसो सोचौँ त बोलेर मुलुक बन्ने भए वा शिक्षामा सुधार हुने भए हामी अहिले यो अवस्थामा बस्न पथ्र्यो होला र ? सुधार्न त जिम्मामा दिएको कामै गर्नुपर्ने रहेछ । सिम्पल छ, जिम्मा दिएको काम सबैले गर्ने । शिक्षकले आफ्नो काम गर्ने, कर्मचारीले दिएको काम गर्ने, यीनका सुपरिवेक्षकले आ आफ्नो जिम्माको काम गर्ने। अन्यत्र सुधार भएको पनि कामै गरेर रहेछ । हामी कहाँ नभएको पनि काम नगरेर रहेछ । यस्मा ठूलो सिद्धान्त चाहिने देखिन मैले त । अरूले के गरे होइन कि मैले के गर्दैछु भन्ने सोच हामी आफूमा चाहिने रहेछ ।
तेस्रो,काम गरेको भनेर मात्र पनि नपुग्ने रहेछ । यहाँ त काम नगर्नु, आवरणमा मात्र काम गर्नु र सारमा काम गर्नुमा धेरै फरक रहेछ । आवरण र सारमा काम गर्नुमा पनि धेरै फरक रहेछ । जब मैले जय सेट्ठिको ‘थिङ्क लाइक अ मंक’ भन्ने पुस्तक पढेँ, अनि भित्रैबाटै काम गर्दा अर्थात् सारमा पुगेर काम गर्दा र आवरणमा मात्र रहेर काम गर्दा हुने फरक महसुस गर्न पाएँ। जय सेट्ठिले यसलाई लगाव वा प्यासन भने । प्यासन सहित काम गर्दा आउने नतिजा फरक हुने रहेछ । हामीले जे काम गरेका छौँ, सो काम प्यासन सहित गरेका छौ कि खेताला शैलीमा गरेका छौँ ? यसैको उत्तर मनमनै सोचे पुग्ने रहेछ । अरूलाई भन्न होइन कि आफूप्रति इमान्दार बन्न उत्तर दिए पुग्ने रहेछ ।
चौथो,हामी यहाँ बढिमा ३० वर्ष सम्मको अनुभव भएका छौँ। यस अवधिमा समय, प्रविधि र समाज कति बद्लियो होला ? यसो सोचौँ त यस बीचमा हाम्रा विद्यार्थी कति बद्लिए ? साथै यो पनि सोचौँ कि हामी कति बदलियौँ यस अवधिमा ?
यही बदलिने शैली र प्रवृत्तिको बीचमा तालमेल नमिलेर हुनसक्छ शिक्षक र विद्यार्थीको सम्बन्ध यन्त्रवत् बन्दै गरेको । अहिले आत्मीय सम्बन्ध कम भयो । अब विद्यार्थी र गुरुको सम्बन्ध होइन कि शिक्षक र विद्यार्थीको सम्बन्ध बन्यो । यसका कारण के होला ? यसो सोचौँ त हाम्रा आफ्नै कारणले के कति भूमिका खेलेको छ होला ?
वास्तवमा यो गुरु शब्द विश्वाससँग जोडिने रहेछ । भावनासँग जोडिने रहेछ । जबसम्म हामी यो गुरुको भावना हाम्रा शैक्षिक संस्थामा ल्याउन सक्दैनौ नि तबसम्म शिक्षामा भित्रै देखी सुधार सम्भव छैन । प्रधानाध्यापक वा शिक्षक एक्लैले गरेर हुदैन, तर सबैको साथ सहयोगका लागि गुरुको उपस्थिति चाहियो । जब शैक्षिक संस्थामा गुरुको भावना ल्याइन्छ, अनि तहाँ आशा जाग्न शुरू हुन्छ । बाँकी अन्य पक्षहरू विस्तारै मिल्दै गइहाल्छन् ।
भनिन्छ नि लक्ष्मण जस्तो भाइ पाउन पहिला दाजु राम जस्तो बन्न सक्नु पर्छ । अर्थात् राम जस्तो दाजु पाउन भाई पनि लक्ष्मण जस्तो बन्न सक्नु पर्छ । शिक्षक र विद्यार्थीको बीचमा पनि यस्तै हो । घर र विद्यालय पनि यस्तै हो । शिक्षक र अभिभावक अनि शिक्षक र प्रधानाध्यापक पनि यस्तै हो । विद्यार्थी असल बनाउन शिक्षक गुरु बन्न सक्नु पर्ने रहेछ । अनि अभिभावक पनि त्यस्तै बन्नुपर्छ वा बनाउनुपर्छ ।
नेता बनाउन सकिन्छ भन्ने सिद्धान्तहरू भएकोले यसलाई गुरु बनाउने कार्यमा पनि जोडन सकिन्छ कि ? अहिलेको समयको गुरु त्यही हो, जसलाई विद्यार्थी, अभिभावक र समाजले विश्वास गर्न सकोस । जब गुरु बनिन्छ वा बनाइन्छ अनि विद्यार्थी चेला बन्ने क्रम सुरु हुन्छ ।
के यतिका अव्यवस्थाका बीचमा गुरु बन्न सम्भव छ त?सहजै प्रश्न आउँछ नै । संसारमा भएका राम्रा अभ्यास हेर्ने हो भने गुरु बन्न बनाउन सकिन्छ ।
स्टिभेन बार्टलेटले सन् २०२३ मा प्रकाशित गरेको ‘अ डायरी अफ सिइओ’ भन्ने पुस्तकमा उल्लेख गरेका ३३ ओटा नियममध्ये ३१औँ नियममा बेलायतको साइक्लिङ् संघसँग जोडिएका मास्टरमाइन्ड सर डेभिड ब्रेल्सफोर्डको मार्जिनल गेन सिद्धान्तका बारेमा छ । सन् २००८ अघिसम्म हाँसोको रूपमा लिइ उदाहरण दिइने गरेको बेलायती साइक्लिङ्को पफर्मेन्स उनको एक प्रतिशतको इम्प्रुभ्मेन्ट सिद्धान्तले सन् २००८ मा बेझिङमा भएको ओलम्पिकमा ५७ प्रतिशत मेडल, सन् २०१२ मा लण्डनमा भएकोमा सात विश्व रेकर्डसहित नौ ओलम्पिक रेकर्ड गरी सन् २००८ देखि सन् २०१७ सम्म १७८ मेडल जित्न सफल बनेको उल्लेख गरेका छन् । बेलायती साइक्लिङ्ले ओलम्पिकमा यतिका स्वर्ण पदक कसरी जित्न सक्यो त भन्ने विवरण उनले यसमा उल्लेख गरेका छन् । उनले प्रशिक्षणमा धेरै खर्च गरेनन । धेरै ठूला काम पनि गरेनन । व्यवस्थापकको अपेक्षाभन्दा न्यून रकममा धेरै ओटा काम गरे । उनले साइकलको पाङ्ग्रा, सुत्ने बिछ्यौना तकिया, खानेकुरा आदिमा सानो सानो सुधार गरे जसले खेलाडीको कार्य सम्पादनमाउल्लेख्य सुधार ल्यायो । डेभिड ब्रेल्सफोर्डको यस अभ्यासलाई त्यसपछि माजिर्नल गेनको सिद्धान्त भन्न थालियो जसलाई हामी पनि प्रयोग गर्न सक्छौँ ।
यस्तै साना साना काम हामीले पनि हाम्रा शैक्षिक प्रणालीभित्र गर्न सक्छौँ । धेरै कामहरू शिल्पी हातलाई पर्खेर बसेका छन् । जसको अभाव हामीले पुरा गर्नसक्छौँ । तर यसका लागि हामीमा प्यासन वा लगाव चाहिन्छ ।
ठिक यस्तै उदाहरण जेम्स क्लियरको एटोमिक ह्याबिट भन्ने पुस्तकबाट पनि पाउन सकिन्छ । यस पुस्तक सन् २०१८ मा प्रकाशित भएको थियो । एटमको संरचनामा फेरबदल ल्याउँदा मोलेक्यूलको स्वरूप बदलिए जस्तै मानिसको हकमा पनि यस्तै नियम लागु हुन सक्छ । आदत बदल्ने भनेको कर्मबाट नै हो । तर यसका लागि हरेक क्षण कर्म गरिरहनु पर्छ । अनिमात्र साना कामबाट नतिजा आउन सुरु गर्छ । यदि हरेक दिन कुनै व्यवहारमा १ प्रतिशतले सुधार गर्ने हो भने वर्ष अर्थात् ३६५ दिनमा ३७.७८ प्रतिशतले उक्त व्यवहारमा सुधार गर्न सकिन्छ भनेर जेम्सले अनुसन्धानका तथ्य नै पुस्तकमा समावेश गरेका छन् ।
हामीले हाम्रो शिक्षामा सुधार गर्ने हो भने सबैले आफ्नो जिम्मामा रहेका काममध्ये साना साना कामबाट सुधार सुरु गर्नुपर्छ । धेरैलाई सरकारले ठूला ठूला काम गर्नुपर्छ अनिमात्र सुधार हुन्छ भन्ने लाग्थ्यो मलाइ पनि पहिला पहिला । तर अहिले बुझ्दै छु एकै पटकमा ठूला काम हुन सक्ने रहेनछन । यसैगरी एक्लै गरेर पनि नहुने रहेछ । सबैतिरबाट काम भएमा मात्र सुधार हुने रहेछ । तर साना कामका लागि हामी आफैनै तयार हुनुपर्ने रहेछ ।
पाँचौँ, विगतका राम्रा कुरासँग जोडिदै हिड्नु पर्ने हो कि । विद्यार्थीका पाँच लक्षण बताउने काक चेष्टा बकोध्यान, स्वान निद्रा तथैव च, अल्पाहारी गृहत्यागी विद्यार्थीम् पन्च लक्षणम् मा के कमजोरी थियो र?संस्कृत वाक्य भएकै आधारमा यसलाई पुरातनपन्थी बनाइ दियौँ । यति बहुमूल्य शास्वत् भनाइलाई जडसुत्रबादमा लगेर जोडिदियौँ । यसलाई छोड्यौ अनि ‘वालमैत्री’ अवधारणा आयात ग¥यौँबाहिरबाट । हामी कहाँ केही नभए जस्तो प्रचार प्रसार गर्यौँ । भएको छुट्यो नयाँलाई आत्मसाथ गर्न सकेनौ । यसैको नतिजा हो हामीले हाम्रा बालबच्चालाई घरमा चिया पकाउन नसिकाएको वा नलगाएको ।
अझ मलाइ त अचम्म कति बेला लाग्छ भने आमा भन्दा ठूला छोराछोरीको झोला बोक्न हामी आमाहरू आफैँ तयार भइरहेका छौँ। किन होला ? आफू विरामी पर्दासमेत छोराछोरीलाई घरको सानो काम गराउन हामीले किन नसकेको होला ? एकातिर यसो गर्छौँ, अनि अर्कोतिर हामी आफै शिक्षा व्यवहारिक भएन भनि रहेका छौँ। यदि शिक्षामा केही व्यवहारीता थप्ने हो भने घरमा गर्न सकिने सानोतिनो कामलाई घरबाट नै परियोजना कार्यसँग जोडन पर्छ होला ।
यसका लागि घर र विद्यालय मिलेर सहकार्य गर्नुपर्छ होला । घरमा बिहान ५ बजे उठ्ने बारेमा परियोजना बनाउ न । घरका स साना काम गर्नेमा तालिका बनाउ न । यही सानो काम हामीले सुरु गरे केही सुधार हुन्छ नै । यसमा त विद्यालयको भूमिका हुन्छ हैन र ?
छैटौँ, मेरो अनुभवमा शिक्षकले विद्यार्थीलाई सामाजिक, आर्थिक, सांस्कृतिक रूपमा चिन्न सक्नु पर्ने रहेछ । व्यक्ति चिनेपछि मात्र उ भित्र पस्ने ढोका पत्ता लाग्ने रहेछ । विविधताको सम्मान पनि यसबाटै हुने रहेछ । व्यक्ति नचिने पछि बाहिरी आवरणको अन्तरक्रियाले त्यति प्रभाव पार्ने रहेनछ । विविधता–समता–समावेशीताको बीचमा बडो मजबुत सम्बन्ध रहेछ। विद्यार्थीको मनमा बस्नका लागि यो चक्र पूरा गर्ने पर्ने रहेछ। यसपछि मात्र विश्वास आर्जन हुन सक्ने रहेछ ।
यहाँ पनि गुरु बन्नु पर्ने अवस्था आयो । तर यो काम सजिलो चाहि छैन है । यो गुरु बन्ने काम गर्नै नसकिने काम पनि होइन। शिवपुरी बाबा, पाइलट बाबा, योगानन्द आदि जति सन्त योगी पनि गुरु फेला नपर्दा सम्म भड्किइरहेको देखियो। विवेकानन्द पनि रामकृष्ण परमहंस नभेट्दा सम्म विचलित थिए। कतै हाम्रा विद्यार्थी पनि यसरी नै असल गुरु खोजीरहेका पो छन कि ?स्कुलमा राखेपछि विद्यार्थी गुरु खोज्न हिडन पाएनन सो काम हामीले पुरा गर्ने हो भने अवस्थामा बदलाब ल्याउन सकिन्छ ।
सातौँ, विद्यालयले शिक्षा सुधार्नका लागि गुरु बनाउन तिर लाग्नु पर्ने रहेछ। यस्ता गुरु कति आफै वा आफ्ना कार्यबाट बन्छन् र कति बाहिरको प्रयासबाट बन्छन् भन्नेमा बहस, अन्तरक्रिया, अनुसन्धान चाहिन्छ । तर यहाँ हामी चाहिँ हाम्रो आफ्नै प्रयासबाट गुरु बन्न सकिने रहेछ भनेर त्यसमा प्रयास गरौँ न त भन्ने हो । किनकी पूर्वीय दर्शन, गीता आदिमा ट्रान्सफर्मेसनका लागि व्यक्तिको स्व जगाउनुपर्छ भनिएको छ। व्यक्ति नै प्रतिबद्ध र उत्प्रेरित बन्न सक्नु पर्छ भनिएको छ ।
आठौँ,अर्को हामीले गर्न सक्ने काम भनेको अध्ययन हो । आफैँ अध्ययन गर्ने । विद्यालयले पनि यसमा केही उत्प्रेरित गर्न सक्छ । प्रविधिको विकासले विषयवस्तु र विषयवस्तु सम्प्रेषण गर्ने तरिकामा धेरै परिवर्तन ल्याएको छ । विषयवस्तुका साथमा प्रविधिमा पनि अध्ययन गर्ने र सीप हासिल गर्नुपर्ने अवस्था देखियो ।
नवौं,अहिलेको पुस्ता कुनै न कुनै रूपमा यस्ता प्रविधिसँग जानकार छन्, परिचित छन् । हामीले त्यसलाई के कति मात्रामा प्रयोग गर्न सकेका छौ त ? सरकारको तयारी कस्तो छ?विद्यालयको तयारी कस्तो छ ?
एउटा नागरिकको आँखाबाट हेर्दा प्रविधिले हाम्रा बालबालिकालाई अर्कै दुनियामा लागि सक्यो। तर हाम्रो ध्यान त्यहाँ पुगेकै छन् । यसको विकास, प्रयोग र असरका बारेमा जानकार बनाउन हामी आफूले पनि अध्ययन गर्नुपर्छ । तर अहिले अध्ययनको मात्रा घटेको छ। सामाजिक सन्जालमा चाहारेको समयलाई अध्ययन मान्न थालियो,जसमा सत्यता छैन । किनकी सामाजिक सन्जालले त अहिले टक्सिक खालका धेरै सूचना प्रवाह गर्दछ वा गरेको छ भनेर जिम क्वीकले लिमिटलेस भन्ने पुस्तकमा सन् २०२० मै लेखेका थिए ।
यही परिवेशमा जोनाथान ह्वेट्डले सन् २०२४ मा द एंक्सिअस जेनेरेशन पुस्तक लेखेर सामाजिक सन्जालले बालबालिकामा पारेको नकारात्मक असरका बारेमा उल्लेख गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, क्यानडा जस्ता विकसित मुलुकमा आधारित भइ सामाजिक सन्जालले बालबालिका पारेको मानसिक दबाब, चिन्ता मानसिक संकट, आत्महत्या आदिको दर र ट्रेन्ड यस पुस्तकमा केलाइएको छ । यसले के देखाउँछ भने बालबालिकामा सामाजिक सञ्जाल र प्रविधिले नराम्रो ढंगबाट प्रभाव पारेको छ ।
तर हामी कहाँ त अध्ययन भएकै छैन । अवस्था कस्तो होला ? हाम्रा बालबालिकालाई कति जिद्दीवाल बनाएको छ होला ? उनीहरूलाई कति दम्भी बनाएको छ होला ?
यस्तो प्रश्नमा हामी के गर्न सक्छौ त ? आमप्रश्न हुन सक्छ । यस्ता तथ्याङ्क तथा सूचना जब शिक्षकसँग र विद्यालयसँग हुन्छ अनिमात्र यसमा केही गर्न सक्ने अवस्था आउनसक्छ । हामीसँग नभए बाहिरका अध्ययनबाट पनि केही सिकाइ हासिल हुनसक्छ । अध्ययनबाट प्राप्त सूचनामा विद्यालय र अभिभावक मिलेर छलफल, अन्तरक्रिया, साझेदारी गरी केही काम गर्न सकिन्छ कि?शिक्षकले विद्यार्थीको स्वभाव पहिचान गरे पछि अभिभावकलाई समयमै जानकारी दिन सकिन्छ कि ? काउन्सिलिङ् सर्भिस दिन सकिन्छ कि ?
साथै विद्यालय मै पनि थप अतिरिक्त क्रियाकलाप र विभिन्न क्रियाकलाप गर्न सकिन्छ कि ? यस्तै कुरामा ध्यान दिनु पर्ने भएकोले शिक्षण पेशालाई चुनौती पूर्ण मानिएको होला ।
मैले सामान्यता हरेक दिन विविसी, सिएनएन, य गार्जियन, द न्यूर्योक टाइम्स इन्टेरनेशनल एडिसन्, द ग्लोबल टाइम्स चाइनाको अनलाइन भर्सनमा आँखा डुलाउने गर्दछु । यस्तो काम आदत जस्तै भइ सक्यो। अझ द न्यूयोर्क टाइम्स इन्टरनेशनल एडिसनको प्रिन्टकपी पनि हेर्ने गर्दछु । यीनका हरेक अङ्कमा नियमित रुपमा एआई, एआइको विकासक्रम, यसका प्रभाव र असरका बारेमा खोजमूलक अनुसन्धानमा आधारित लेख समावेश भएको पाइन्छ । यीनमा एआईलाई शिक्षा र उच्च शिक्षामा कसरी प्रयोग गर्ने भन्ने आशामूलक अर्थात् आशा जगाउने खालका समाचार हुन्छन् ।
तर हाम्रोमा अवस्था के कस्तो मैले यहाँ भनिरहनु नपर्ला । शिक्षकका माग, अवरोध, प्रदर्शन, स्थानीय तहको असन्तुष्टि, गाली गलौज,बेथितिका खबर आदिले अनलाइनका भित्ता सजिएका हुन्छन् । के हाम्रोमा राम्रो खबर नै नभएका हुन कि यस्ता खबर खोजी गर्ने संस्कार नभएको हो ?
कतै हामी सबै शिक्षाको मूल चुनौती भन्दा पनि बाहिर अर्थात् पेरिफेरीका विषयमा त अलमलिएका छैनौँ ? यो कस्को दोष हो त ? कतै हाम्रो नियति नै यही त होइन ?
एआईको प्रयोग बढाउनमा सरकार एक्लैको प्रयास पर्याप्त नहुन सक्छ । यसका लागि सरकार, निजी क्षेत्र र अभिभावकको साझा प्रयास चाहिन्छ। यसमा कस्तो साझेदारी भन्ने विषयमा छलफल गर्न ढिला भइ सक्यो ।
दसौँ,अब अलिकति शिक्षक, विद्यार्थीको व्यवहारका सम्बन्धमा पनि चर्चा गरौँ। हामीले विषयवस्तु अर्थात् कन्टेन्ट मात्र पढाउन थालेछौँ । जीवन कसरी पढाउने होला ? भनिन्छ नि सबै प्रश्नका उत्तर दिनु आवश्यक हुदैन । केही प्रश्नका उत्तर समय आफैँले पनि दिन्छ । देखेका सबै विषयमा प्रतिक्रिया व्यक्त गर्नै पर्छ भन्ने छैन। विषयको पाठमात्र नभएर व्यक्तिको जीवनको पाठ पढाउन के कस्ता पाठ थप गर्नुपर्ला ?
यस सन्दर्भमा जोनलेननको भनाई मलाई अति सान्दर्भिक लाग्छ । शिक्षकले विद्यार्थीलाई जिन्दगीमा के बन्न चाहन्छौ भनेर सोध्दा विद्यार्थीले खुसी चाहन्छु भन्छ । शिक्षकले तिमीले प्रश्न बुझेनौ भन्दा विद्यार्थीले तपाइले जिन्दगी बुझ्नु भएन सर भन्छ । विद्यार्थीलाई पहिला जिन्दगी पढाउनु पर्ने रहेछ, अनि मात्र विषयवस्तु पढाउने पो रहेछ । तर कसरी ? सोच्ने विषय रह्यो ।
विद्यालयले समूह कार्य, अतिरिक्त क्रियाकलाप, स्काउट एवम् रेडक्रसले गर्ने स्वयंसेवाका कार्यहरूमा अलि बढि संलग्न गराउने कि! छोराछोरी डाक्टर, इन्जिनियर मात्र चाहने समाजमा अन्य क्रियाकलापहरू गराउदा राम्रो प्रतिक्रिया नआउन पनि सक्छ। तर रोबर्ट फ्रस्टले भनेझै दोबाटोमा कम चल्तीको बाटो रोजेँ त्यही भएर यहाँसम्म आइपुगेँ भन्ने द रोड नट टेकनको भनाइ सम्झेर पनि विद्यालय तहबाट अलि फरक गर्न प्रयास गर्ने कित !
अब केही आशाको कुरा
भनिन्छ,नथिङ् इज प्रमानेन्ट, डन्ट स्ट्रेस योरसेल्फ टु मच, विकाउज नो म्याटर हाउ ब्याड द सिचुएसन इज, इट वील चेन्ज। हाम्रो अवस्था सधैँ यस्तै रहदैन यो पक्का छ । परिवर्तन गर्ने हामी हुन्छौ कि अरू कुनै हुन्छ भन्ने मात्र हो। तर यसरी नै सधैँ चल्दैन ।
यस सन्दर्भमा ग्रीक इतिहासमा उल्लेख गरिएको फिनिक्स र नार्सियसको कथा जोडन चाहन्छु । हुन त यो कथा अन्यत्र पनि प्रयोग भएको हुनसक्छ ।
फिनिक्स, एउटा अमर पंक्षी वा माया पंक्षी हो, जसको नाम ग्रीक, अरब, भारत र चिनियाँ इतिहासमा सम्मानका साथ लिइने रहेछ । यस पंक्षीलाई पुर्नजन्मको प्रतीकका रूपमा लिइन्छ । ह्यारी पोटर चलचित्रमा पनि यसको प्रसँग छ ।
एउटा कथा अनुसार फिनिक्स चरा अरब सागरमा ५०० वर्ष सम्म बाच्दछ । अनि उसले बुझ्दछ कि अब अन्त्य र पुन सुरुवातको समय भयो। एकैपटक अन्त्य र सुरुवात अचम्म छ । यस चराले आफ्नो गुँडलाई चिताको रूपमा लिन्छ र त्यसमा आगो लगाउँछ । चितामा जलेर आफै खरानी बन्छ । अनि खरानीबाट सानो किराबाट सानो चरा हुदै वयस्क फिनिक्सको रूपमा पूर्नजन्म प्राप्त गर्छ । यसरी नयाँ जन्मने फिनिक्सको आयु पनि पुरानो अर्थात् अघिल्लो फिनिक्सको जति नै हुन्छ। त्यही भएर यसलाई अमर पंक्षी पनि मानिएको रहेछ ।
अर्कोतिर ग्रीक पौराणिक कथामा नार्सियस सम्बन्धी अर्को कथा छ । नार्सियसलाई नदि देवता र अप्सराको छोरा मानिन्थ्यो। नार्सियस सुन्दरताको प्रतीक थिए । तर उसले महिलालाई सम्मान गर्दैनथ्यो। हाँसी मजाकको रूपमा लिन्थ्यो । उनी आफैँमा सिकारी थिए जंगल डुल्दथे । ऐनाको आविष्कार हुनु भन्दा अगाडिको समय हो । एकदिन नार्सियसले पानी जमेको स्थानमा आफ्नो अनुहार देख्दछ । उसले आफ्नो अनुहार पानीमा देखेपछि यति मन्त्र मुग्ध भयो कि उसले अरू काम गर्न छाड्यो । केबल अनुहार मात्र हेरेर दिन बिताउन थाल्यो। आफूले आफैलाई हेरे आफ्नो जीवन सक्यो । यही पात्र र कथापछि नार्सिसिजम शब्द व्यवहारमा ल्याइयो, जसको अर्थ आत्मरतिमा रमाउने पात्र हो ।
यहाँ फिनिक्स जस्तो बन्ने कि नार्सियसजस्तो बन्ने कुरा आयो । अहिले हामी नार्सियस बन्ने बाटोमा अग्रसर छौँ । धेरै जना आत्मरतिमा रमाउनमा मस्त देखिन्छौँ । फिनिक्स कथाको सिकाइ आफूले गुमाएर भए पनि नयाँ जीवन पाउने हो । तर हामी आफूले खासै केही गुमाउन नपरे हुन्थ्यो भन्नेमा पुग्दछौँ । पास भएको भोलिपल्ट रोजेकै सुगम ठाउँमा जागिर चाहियो । तर व्यवहारमा आदर्शका कुरा गर्ने पर्ने भएको छ ।
सधैँ एउटै गति, एउटै सोच र एउटै बाटोबाट हिँड्ने हो भने पुगिने ठाउँ एउटै हो। यदि पुग्ने ठाउँ बदल्ने हो भने यीमध्ये कुनै एक वा सबैमा बद्लाब चाहिन्छ । यसको लागि हामी के कति मात्रामा तयार हुनसक्छौँ भन्ने मात्र हो ।
गीतामा भगवान् कृष्णले शरीर, वाणी र मनबाट कर्म गर्नुपर्ने जो जीव र जगतको भलाइका लागि हुन्छ । अर्थात् सत्कर्म गर्नुपर्ने । शिवपुरी बाबाले स्वधर्म भन्नु भएको छ । मानवका स्वधर्म, शिक्षकका स्वधर्म, विद्यार्थीका स्वधर्म हुने रहेछ। तसर्थ अबको चिन्तन यी सबैलाई स्वधर्ममा कसरी लगाउने भन्ने रह्यो । शिवपुरी बाबाले स्वधर्ममा अभ्यस्त हुन वर्षौ लाग्ने बताउनु भएको छ । विद्यालय, शिक्षक र अभिभावकको बीचमा सहकार्य गर्न सकेमा स्वधर्मका बारेमा केही गर्न सकिन्छ नै ।
साथै अहिले कर्म नगरिकन फल पाउने सोच बढेको छ । परिश्रम नगरिकन केही प्राप्ति हुदैन । तर परिश्रममा कमी आएको छ। विद्यार्थीको स्वअध्ययन अर्थात् पठन संस्कृतिमा कमी आएको छ । नपढीकन हुदैँन । तर बुझाउने कसरी ?
पढ्ने बनाउने कसरी त ? हाम्रा विषयवस्तु चाख लाग्दा नभएका हुन् कि प्रस्तुति शैली नमिलेको हो ?कारण खोजेर निदान गर्नुपर्ने भएको छ । अहिले पढाइमा कमी आएको छ जसलाई बढाउनु पर्ने भएको छ ।
व्यक्तिमा परिवर्तन आउन दुई ओटा कारण महत्वपूर्ण हुन्छन् भनेर प्रशान्त भूषण आफ्नो पोडकास्ट संवादमा बताउँछन् । व्यक्तिलाई सूत्र वा फर्मूला घोकाएरर विषयवस्तुलाई बुझाएर दुवै ढँगबाट बदल्न सकिन्छ । दोस्रोमा प्रेरणाबाट बदल्ने काम हुन्छ । औपचारिक शिक्षा प्रदान गर्नु भनेको सूत्र वा फर्मुला पढाउने जस्तै हो। यसका साथमा शिक्षकबाट प्रेरणादायक काम गर्न सकिएमा आदत वा व्यवहार निर्माणमा सिनर्जि कायम गर्न सकिन्छ ।
अभिभावक स्वयम् आफ्ना छोरा छोरीको योग्यता क्षमता जे भएपनि उनीहरूलाई डाक्टर इन्जिनियर बनाउन लागेकै छन् । तर विद्यालय र शिक्षक त्यसमा लाग्न हुदैँन। विद्यार्थी जे छ त्यही बनाउन लाग्नु पर्ने होइन र ? उसलाई मानवीयता पढाउनु पर्ने हो । मानिस बनाउनतिर लाग्ने हो । यसका लागि सर्वप्रथम विद्यार्थीलाई चिन्नु प¥यो अनि उ जे हो त्यही बाटोमा अगाडि बढ्न सक्ने बनाउनका लागि उत्प्रेरणा दिन अब ढिला गर्न हुदैन है । यो काम सजिलो भने छैन । तर गर्नै पर्ने काम यही हो ।
विद्यार्थीलाई गृहकार्यको दबाब भन्दा उत्प्रेरणा जगाउने, आशा जगाउने काम कसरी गर्ने होला ? विद्यार्थीलाई खुसी कसरी बनाउने होला ? उ भित्रको प्रतिभा चिनेर त्यसमा कसरी सहयोग गर्ने होला ?विद्यालयप्रति विद्यार्थीलाई सकारात्मक र आशा जगाउने बनाउन के गर्नु पर्ला ?
२०८१ चैत्र २६ अर्थात् अप्रिल ८, २०२५ बिहिवार को द न्यूर्योक टाइम्स इन्टरनेशनल एडिसनमा केभिन रूजले कृत्रिम वौद्धिकताले मानवले सोच्नेभन्दा अझ बढि सोच्न सक्छ भन्ने बहस सृजना गरेका छन्। क्यालिफोर्निया विश्वविद्यालय वर्कलेले एआइ फयूचर प्रोजेक्ट संचालन गरेको छ । यसमा केभिनले सन् २०२७ सम्ममा एआईले मानव मस्तिष्कले भन्दा अझ अगाडी सोच्न सक्छ भनेका छन् । यस लेखमा सन् २०३० सम्म क्यालिफोर्नियाको सडक ह्यूमोनाइड रोबोटले भरिएका हुन सक्छन भनिएको छ । यो अनुमानमा कति सत्यता होला, त्यो त भविष्यले नै देखाउला । तर अबको पाँच वर्षमा एआईले मानव जीवमा नसोचेको प्रभाव पार्न सक्छ। यस अवस्थामा हामीले के गर्नु पर्ने हो ?
एकछिन तुलना गरौँ त। आज २०२५ मा छौँ– अबको ५ वर्षमा एआईको दुनियाँमा एजेन्ट–४ को भर्सन आइसकेको हुनेछ। तर हाम्रोमा त अहिलेको पाठ्यक्रममा सामान्य परिमार्जन वा संशोधन मात्र हुन सक्छ पाँच वर्षको अवधिमा । किनकी हाम्रो पाठ्यक्रम परिमार्जन वा संशोधनको कार्य तालिका ५ वर्षमा हुने छ, भने नयाँ बन्ने कार्यतालिका १० वर्षको छ। यसो अनुमान गरौँ त विकसित मुलुकका विद्यार्थी र हाम्रा विद्यार्थी बीचमा अबको ५ वर्ष पछि कति दरार आउँला ? अब के गर्ने होला त ? भएको पाठ्यक्रममा थप गरेर केही काम गर्न गराउन सकिन्छ कि ?
संसारमा के भइ रहेछ भनेर जानकार हुनका लागि अनुसन्धान जरुरी रहेछ । प्रयास र साधना जरुरी रहेछ । अध्ययन चाहिने रहेछ । हाम्रा शिक्षक साथीहरूलाई अध्ययन अनुसन्धानमा कसरी संलग्न गराउने होला ? विद्यालयमा हुने बैठकमा यस्ता विषयको बारेमा चर्चा गर्न गराउन सकिन्छ कि ? साथै समय समयमा यसका बारेमा विज्ञसँग अन्तरक्रिया गर्न गराउन सकिन्छ कि ?
हाम्रा समस्या हामी आफैले नगरी समाधान हुँदैनन । मेसिन औजार पुस्तक खरिद गर्न सकिने हुन्छ । पूर्वाधार निर्माण गर्न सकिन्छ । तर आदत, काम गर्ने संस्कार, बानी ब्यहोरा हामी आफैँले निर्माण गर्ने रहेछ । जबसम्म काम गर्दैनौ सुधार सम्भव छैननै । फरक ढंगबाट काम गर्न थाल्नु पर्ने रहेछ ।
अब प्रविधिको प्रयोग बढाउनै प¥यो । कोभिडले एउटा पुश (धक्का) दियो र केही न केही सिक्यौँ, अब त्यस्तो पुश (धक्का) होला नहोला तर हामीले सिक्ने कुरामा बढावा दिनु पर्यो ।
विद्यालयमा सामाजिक संवाद अन्तरक्रिया र अतिरिक्त कृयाकलापमा जोड दिउँ। सामाजिक सीप हासिल गर्ने थलो अब घर र समाजमात्र रहेन, अब यो काम विद्यालयबाट नै गराउन सहकार्यको ढाँचा बनाउनु पर्यो ।
(लेखमा समावेश विषय लेखक डा. हरि प्रसाद लम्सालका निजी विचार हुन् । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका लम्साल नेपाल सरकारका सचिव हुन् । हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।)



