शिक्षकका विशुद्ध पेसागत संगठनको अपरिहार्यता

काठमाडौं/२९ बैशाख – नेपालको कानुन शिक्षा ऐन २०२८,नवौं संशोधन २०७५ को दफा १६ ङ, उपदफा १,२ र ३ ले व्यवस्था गरेको र हाल चर्चाको चुलीमा रहेर संसदबाट पारीत हुने क्रममा रहेको ’विद्यालय शिक्षा विधेयक’मा व्यवस्था गरेको शिक्षकहरूको पेसागत हक हितको सम्बन्धमा कार्य गर्न गठन गरिएको एक मात्रै संस्था “नेपाल शिक्षक महासङ्घ“ हो । यसैको आयोजनामा यथाशीघ्र शिक्षक र सरकार बीच विगतमा भएका सहमति सम्बोधन गरी ’विद्यालय शिक्षा ऐन जारी गर’ भन्ने एक सूत्रीय माग राखी २०८१ माघ २० देखि आन्दोलनका विभिन्न चरण पार गर्दै चैत २० देखि २०८२ बैशाख १७ गतेसम्म २९ दिने आम शैक्षिक हडताल गरि काठमाडौँको सडकमा भएको समेत गरि कुल ८९ दिनको आन्दोलन पश्चात् सरकारसँगको सहमति पश्चात् आन्दोलन स्थगित गरेको छ ।


शिक्षकका पेसागत संस्था एवम् शिक्षकका ट्रेड युनियनको रूपमा लिइने शिक्षक महासङ्घको २९ दिन लामो आम शैक्षिक हडताल भनिए पनि भक्तपुरका सामुदायिक स्कुल र निजी स्कूलहरू खुलेका थिए । यसले निजी स्कुललाई फाइदा पु¥याई सामुदायिक स्कुललाई डुबाउने खेलका रूपमा लिएको आरोप पनि लागेको थियो । निश्चय पनि यो आन्दोलनले विद्यार्थीको शिक्षा पाउने हकलाई प्रभावित पारेको थियो । २९ दिनको लामो हडताल सहितको ८९ दिनको शिक्षकका पेसागत माग राखी भएको आन्दोलनको उपलब्धि यति थोरैमा सीमित भएको छ ।


यति माग र उपलब्धिका लागि दबाब, पक्षीकरण (लबिङ) सहितको अन्य मोडालिटीको आन्दोलन पर्याप्त हुन्थ्यो । शिक्षकका अधिकारको प्रयोग गर्दा विद्यार्थी र अभिभावकको हक हनन हुनु र राज्यकोषबाट तलब लिएर कर्तव्य पालन नगरेको, यो आन्दोलनलाई सत्ता परिवर्तनको लागि राजनीतिकरण हुन थालेको जस्ता गुनासो बढन थालेपछि आन्दोलन सुरक्षित अवतरणको महसुस गर्न थाले । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि रहेको र अन्य पदाधिकारीहरू पनि विभिन्न पार्टीमा आबद्ध भएका तथ्यहरू छर्लङ्ग हुँदा समेत आन्दोलनका नेतृत्वले “हामी कुनै पार्टीको सदस्य होइनौँ, पार्टीमा आबद्ध छैनौँ“ भन्न छोडेको थिएनन् ।


शिक्षा मन्त्री विद्या भट्टराईसँग वार्तामा नबस्ने अडान लिएका महासङ्घ विद्या भट्टराईको राजीनामा पछि अर्का नवनियुक्त शिक्षा रघुजी पन्तसँग वार्ता गर्न हतार गरे र विद्या भट्टराईकै ७ बुँदेमा सहमतिमा आन्दोलन स्थगित गर्ने र घाइतेको उपचार गर्ने २ बुदा थपेर ९ बुँदामा सहमति गरी असार १५ भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट परीत गर्ने गरी आन्दोलन टुङ्याउनु परेको थियो ।


शिक्षकका पेसागत संस्था २०३६ सालको शिक्षक आन्दोलन पश्चात् ’नेपाल राष्ट्रिय शिक्षक संगठन’ त्यसपछि ’नेपाल शिक्षक युनियन’ हुँदै २०६६–०६७ सालतिर नेकपा माओवादी निकट विभिन्न प्रकारका शिक्षकहरूका फोरम, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च समेत सामेल भएपछि नेपाल शिक्षक महासङ्घ’ भएको हो । शिक्षकका पेसागत संगठन भएपनि यसमा एक स्वतन्त्र शिक्षक सदस्य बन्न नसक्ने अज्जव÷गज्जवको व्यवस्था गरेको छ । विभिन्न पार्टी सम्बद्ध शिक्षकका पेसागत संस्था (संघ–संगठन)को सदस्य बनेका मात्रै त्यसमा सदस्य हुन सक्छन् र त्यस संघ– संगठनले सिफारिस गरि पठाएका सदस्य शिक्षक मात्रै “महासङ्घ“को विभिन्न तह(केन्द्र, जिल्ला, पालिका)का समितिको सदस्य–पदाधिकारी बन्न सक्ने व्यवस्था छ ।


यस्तो व्यवस्थाले कुनैपनि राजनीतिक दल संबद्ध शिक्षक संस्थाका सदस्य नभएका स्वतन्त्र शिक्षक “नेपाल शिक्षक महासङ्घ“को सदस्य हुन नसक्ने अवस्था रहेको छ । अर्थात् राजनीतिक दलका शिक्षकका पेसागत संस्था “महासङ्घ“मा आबद्ध भए मात्रै त्यसका सदस्य ’शिक्षक महासङ्घ’का सदस्य हुनेछ । यसका साथै कुनै शिक्षक कुनै पार्टी संवद्ध शिक्षकका संघ÷संगठनको सदस्य भएको तर त्यो संघ “नेपाल शिक्षक महासङ्घ“मा आबद्ध (सामेल) नभएमा पनि त्यो शिक्षक ’नेपाल शिक्षक महासङ्घ’को सदस्य बन्न नसक्ने व्यवस्था रहेको छ । यो निश्चय नै गैर कानुनी, अप्रजातान्त्रिक र अव्यावहारिक छ ।


यस्तो व्यवस्थाले ’शिक्षक महासङ्घमा सामेल (आबद्ध) नभएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) संवद्ध शिक्षकका संस्था, नेपाल क्रान्तिकारी शिक्षक संघ लगायत अन्य विभिन्न पार्टी सम्बद्ध शिक्षकका सदस्यहरू पनि ’नेपाल शिक्षक महासङ्घ’को सदस्य हुने छैन । हाल नेपाल शिक्षक महासङ्घमा १३ वटा राजनीतिक पार्टी सम्बद्ध शिक्षक संघहरू र २ वटा शिक्षक, कर्मचारीका समूह नेपाल विद्यालय कर्मचारी परिषद् र संस्थागत विद्यालय शिक्षक संघ समेत गरि १५ वटा शिक्षकका संस्थाहरू आबद्ध छन् ।


महासङ्घको विधानले कुनैपनि राजनीतिक दल निकटका शिक्षक संघ/संगठनमा सदस्य नभएका स्वतन्त्र शिक्षक “नेपाल शिक्षक महासङ्घ“को सदस्य नपाउने व्यवस्था गरेको छ । तसर्थ वर्तमान नेपाल शिक्षक महासङ्घ खारेज गरी सबै शिक्षक आफ्नो पेसागत हक अधिकारको संरक्षण र सुनिश्चितताका निम्ति आबद्ध हुन पाउने एक स्वतन्त्र र स्वायत्त शिक्षकका पेसागत संगठन गठन गर्नुपर्छ । एक शिक्षक कुनै पार्टी संवद्ध शिक्षक संगठनको सदस्य भएपछि मात्रै शिक्षकको पेसागत संस्थाको सदस्य हुन पाउने व्यवस्था संविधानले दिएको ट्रेड युनियन अधिकार विपरीत छ । शिक्षकका एकमात्रै संवैधानिक र कानुनी अधिकार प्राप्त पेसागत संस्था गठन गरी सम्पूर्ण शिक्षक एवम् विद्यालय कर्मचारी संगठित हुन पाउने अधिकार सुनिश्चित गरिनुपर्छ ।


नेपालको संविधान र चालु शिक्षा ऐन– कानुनले व्यवस्था गरेको शिक्षकका एउटै मात्र पेसागत संगठन ’नेपाल शिक्षक महासङ्घ’को सदस्य बन्न पाउनु प्रत्येक शिक्षकको अधिकार हो । त्यो सदस्य “ शिक्षक महासङ्घ“को राष्ट्रिय/केन्द्रीय/सङ्घीय समिति, जिल्ला समिति, पालिका समितिको कार्य समितिका पदाधिकारी वा सदस्य बन्न सक्ने र त्यसका लागि उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्छ । हाल यस्तो नभएकाले “नेपाल शिक्षक महासङ्घ“ सम्पूर्ण शिक्षकको हक हितका लागि गठन गरेको पेसागत संगठन हुन सकेको छैन ।


सङ्क्षेपमा भन्ने हो भने शिक्षकका पेसागत संस्थाको संरचना र गठन प्रक्रिया कानून व्यवसायीहरूको पेसागत संगठन नेपाल बार एसोसिएसनको जस्तो हुनुपर्छ ।


साथै महासङ्घ शब्दको अर्थ संघहरूको पनि संघ वा विभिन्न संघ–संघठनहरूको संघ हो । यसकारणले हालको ’नेपाल शिक्षक महासङ्घ’ खारेज गरि ’नेपाल शिक्षण एसोसिएसन’ वा नेपाल शिक्षक युनियन वा अन्य उपयुक्त पेसागत संगठनको गठन गर्नुपर्दछ ।


निष्कर्षमा विभिन्न पार्टी संवद्ध शिक्षकका संघ–संगठनहरूको संघ ’नेपाल शिक्षक महासङ्घ’ खारेज गरी नेपालको संविधानको धारा ३४(३) र नेपालको ऐन–कानून बमोजिम शिक्षकका पेसागत हक हित संरक्षण र सुनिश्चितताका लागि विद्यालयका सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीहरूको विशुद्ध पेसागत संस्था तत्काल बनाउनुपर्छ ।


अब आउने विद्यालय शिक्षा ऐनमै शिक्षकको हकहित र संरक्षणका लागि सम्पूर्ण शिक्षक सामेल हुन पाउने शिक्षकका एक पेसागत संगठन रहने र त्यसको नाम, संरचना, संघ ,प्रदेश र पालिका कार्यसमितिको गठन प्रक्रिया र ती कार्यसमितिमा सर्वसम्मत हुन नसके शिक्षकको प्रत्यक्ष निर्वाचनबाट गठन हुने व्यवस्था स्पष्ट रूपमा उल्लेख हुनु पर्छ ।


लेखक अधिवक्ता शिवराम बोहजू आदर्श आजाद मा.वि/कलेज,भक्तपुरका शिक्षक हुन् ।