काठमाडौं/३० बैशाख – नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठले एमबिबिएस पढ्दै गरेका विद्यार्थीहरू प्रथम वर्ष, द्वितीय वर्ष वा अन्य तहगत वर्ष पढ्दै गरेका विद्यार्थीहरू यदि फेल भएमा रु ५००० तिर्नु पर्ने प्रावधान रहेको बताएकी छन् ।
आइतवार प्रतिनिधि सभाको बैठकमा देशको शिक्षा नीति प्रतिनै प्रश्न गर्दै रु ५००० तिरेर रिचेक गर्नु पर्ने कुरा धेरै महँगो भएको बताईन । उनले डाक्टर पढ्ने विद्यार्थीहरूलाई एक नम्बर वा दुई नम्बरले फेल गर्ने प्रथा अत्यधिक हुने गरेको बताउँदै रु ५००० तिरेर रिचेक गर्नु पर्ने कुरा धेरै महँगो भएको र लापरवाही तरिकाबाट कपी जाँच गर्ने गरिएको दाबी गरिन ।
उनले भनिन् ‘कपी रिचेक गर्दा सोही विद्यार्थीले हेर्नै नसक्ने गरी नम्बर दिएको हुँदो रहेछ । कुनै कपीमा त नम्बर जोड्नै बिर्सेको हुँदो रहेछ, कुनै कपीमा नम्बर दिँदै नदिई विद्यार्थीहरूलाई जबरजस्ती फेल बनाउँदा रहेछ । रु ५००० लिन मात्र यस्तो गर्ने हो कि भन्ने जिज्ञासा मात्र हो । करोडौँ रुपैयाँ तिरेर यो देशको भविष्य परिवर्तन गर्न सामाजिक सेवामा समर्पण गरेर एमबिबिएस पढ्ने विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ भन्ने कुरा अवगत गराउँछु ।’



