काठमाडौं/१६ बैशाख – नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय फर्काउन सरकार गम्भीर हुनुपर्नेमा त्यसो नभएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै भर्ना, परीक्षा लगायतका विषय अन्योल हुँदा शिक्षकलाई विद्यालय फर्काउनुपर्नेमा शिक्षकहरूमाथि दमन गरेको भन्दै विरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलले शिक्षकहरूको समस्या र शिक्षा क्षेत्रका अन्य मुद्दाहरूमा छलफल गर्न प्रस्ताव दर्ता गरेकोमा संसदमा दर्ता गरिएको एक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएको विचार व्यक्त गर्दै सो विषयमा केन्द्रित हुन आग्रह गरे ।
उनले सरकारले समय नदिएको कारण सभामुखले कार्यसूचीमा राख्न नसकेको बताएको जानकारी गराउँदै यसले गर्दा सरकार संसद र जनताका समस्याप्रति गम्भीर नभएको उनको भनाई छ ।
‘शिक्षकहरू आन्दोलनमा छन्, विद्यार्थीहरूको परीक्षा स्थगित भएको छ, र सार्वजनिक विद्यालयको स्तर वृद्धिको विषय ओझेलमा परेको छ । सांसदहरूले लगातार यो विषय उठाइरहेका छन्, तर सरकारले ठोस जवाफ दिएको छैन । त्यसैले, प्रतिपक्षी दलले यो प्रस्तावमाथि छलफल गर्न र शिक्षकहरूको समस्या समाधान गर्न सरकारलाई रुलिङको माग गरेको छ’ उनले भने ।



