काठमाडौँ /१२ वैशाख – सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू सरकारले तीन दिन भित्र उचित निर्णय गरी विद्यालय फर्काउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सरकारले उचित र आवश्यक निर्णय गरी आन्दोलनरत शिक्षकहरू विद्यालय फर्किएर नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्न र देशभरका बालबालिकाहरूलाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चको आदेशमा भनिएको छ, “आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नु, देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु नगराउनु ।’’
यसैगरी तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा बोर्डको परीक्षाफल प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिलन, शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिँदा उक्त परीक्षा तोकिएको समयमा नै गने, परीक्षा नसार्ने सार्न नलगाउने अदालतले आदेश गरेको छ ।
अदालतले आदेश कार्यान्वयनको प्रगति शिक्षा मन्त्रालयमार्फत पेस गर्न पनि सरकारलाई आदेश गरेको छ ।
साथै सरकारका नाममा अदालतको अन्तरिम आदेश आएपछि केही कुरामा प्रस्ट हुनुपर्ने भने अधिवक्ताहरूले बताएका छन् । अधिवक्ता किशोर पौडेलले अन्तरिम आदेश सरकारको नाममा आएको र उचित माग पुरा गर्नुपर्ने दायित्व सरकार कै हुने बताए । तर संविधान भन्दा बाहिर जान कसैलाई अधिकार नदिइएकोले यदी सरकारले आन्दोलनरत शिक्षकहरूसँग संविधान विपरीत गएर सहमति गरेको भएपनि त्यो स्वतः कार्यान्वयन गर्न नमिल्ने उनको भनाई छ ।
यसैगरी अधिवक्ता पौडेलले अन्तरिम आदेशको बुँदा नम्बर ८ अनुसार सरकारले आन्दोलनरत शिक्षकहरूका माग पुरा गरेपनि नगरे पनि बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित गर्न शिक्षकहरूका तर्फबाट पनि नमिल्ने र त्यो सवालमा आन्दोलनरत शिक्षकहरूको पनि जिम्मेवारी देखिने भएकोले आदेशको पालना शिक्षकहरूले पनि गर्नुपर्ने बताए ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अदालतले दिएको अन्तरिम आदेशका बारेमा टिप्पणी गर्न नमिल्ने बताउँदै प्रस्ट हुन नसकेको बुँदामा वा नबुझिएका बुँदामा पुन अदालतले प्रस्ट पार्न सक्ने जानकारी दिए ।



