काठमाडौँ /११ बैशाख – गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका संघले अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न शिक्षकहरूसँग अनुरोध गरेका छन् । शिक्षक आन्दोलनका कारण विद्यालय शिक्षा क्षेत्रमा गम्भीर असर पर्ने तर्फ ध्यानाकर्षण गराउँदै सो अनुरोध गरेका हुन् ।
स्थानीय सरकारका संघ महासङ्घको तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलनले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना ठप्प भएको, विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको, एसईईको उत्तरपुस्तिका परीक्षण हुन नसकेको समयमा नै कक्षा १२ को परीक्षा हुन नसकेको जस्ता कार्यले विद्यालय शिक्षा क्षेत्रमा गम्भीर असर परेको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘जारी आन्दोलनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना ठप्प भएको, विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको, एसईईको उत्तरपुस्तिका परीक्षण हुन नसकेको समयमा नै कक्षा १२ को परीक्षा हुन नसकेको जस्ता कार्यले विद्यालय शिक्षा क्षेत्रमा गम्भीर असर पर्ने तर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन चाहन्छौँ । विद्वान् शिक्षक तथा कर्मचारीहरू राज्यका जिम्मेवार व्यक्ति भएकाले र उल्लिखित विषयहरू नागरिकको मौलिक हक, मानवअधिकार र सामाजिक उत्तरदायित्वको विषय भएकोले अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न पुनः हार्दिक अनुरोध गर्दछौँ ।’
यसैगरी राष्ट्रिय शिक्षा ऐन तत्काल जारी गर्न सङ्घीय संसदको आसन्न अधिवेशनमा पहिलो प्राथमिकतामा राख्न नेपाल सरकार र सङ्घीय संसदलाई अनुरोध गरेका छन् । राष्ट्रिय शिक्षक महासङ्घको माग सम्बन्धमा मन्त्रीपरिषद्बाट सम्बोधन हुन सक्ने विषयहरू तत्काल सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दै विधायिकी प्रक्रियाको सम्मान गर्न र विधेयकलाई संसदबाट पारित गर्ने समयसम्मलाई धैर्य गर्दै आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षकहरूलाई भनिको छ ।
साथै वर्तमान संविधानले नै माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको एकल अधिकार र दायित्व भित्र राखेको विषय उल्लेख गर्दै संवैधानिक व्यवस्थाको खिलाफमा हुने सम्झौता तथा जारी हुने कानुन असंवैधानिक हुने र स्थानीय सरकारहरूलाई स्वीकार्य नहुने बताएका छन् । संवैधानिक प्रावधानलाई अक्षरशः कार्यान्वयन गर्ने गरी गरिने सम्झौता र समझदारीहरूलाई समर्थन गर्न र स्थानीय सरकारको जिम्मेवारीमा पर्ने विषयहरू कार्यान्वयन गर्न तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थी र अभिभावकसँग नियमित सम्पर्क र समन्वय गरी विद्यार्थीहरूमा मनोवैज्ञानिक असर पर्न नदिन, वैकल्पिक विधिमार्फत भर्ना रेकर्ड अद्यावधिक गर्न, पाठ्यपुस्तक प्राप्ति र वितरणको अद्यावधिक विवरण लिन र विद्यालय सुचारु गर्न अधिकतम पहलकदमीको लागि सबै स्थानीय सरकारहरू, विद्यालय व्यवस्थापन समितिहरू, आमअभिभावकहरू र शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई महासङ्घको आग्रह छ ।



