शिक्षक आन्दोलनलाई थप कडा बनाउँदै महासङ्घ

काठमाडौँ /१० बैशाख – आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको छ । गत चैत २० गतेदेखि शिक्षक सडक आन्दोलनमा हुँदा पनि सरकारले कुनै सुनुवाइ नगरेपछि आन्दोलाईन थप कडा बनाउने भएको हो ।


महासङ्घको राष्ट्रिय समितिको हिजोको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । साथै यतिका दिनसम्म शिक्षकहरूको प्रदर्शनमा अनुशासन र संयम भएको सबैले प्रशंसा गरेको उल्लेख गर्दै सदा झैँ अनुशासित, संयमित र मर्यादित भएर जुलुसमा सहभागी हुन आग्रह गरेका छन् ।


उनले गाउँघरमा रहेका आफ्ना साथीहरुलाई काठमाडौँ बोलाउन र निर्णायक घडीको आन्दोलनमा समाहित हुन, महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न, अफवाह र गलत समाचारमा पत्यार नगर्न सबै शिक्षकहरुलाई आग्रह गरेका छन् ।