परीक्षा, नतिजा र विद्यार्थी भर्नालाई सहजिकरण गर्न विव्यस महासङ्घको आग्रह

काठमाडौँ /९ बैशाख – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको काठमाडौँ केन्द्रीत सडक आन्दोलनप्रति ऐक्यबद्धता रहेको जानकारी दिँदै अवरुद्ध रहेको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी भर्ना कार्यलाई सहजिकरण गर्न आग्रह गरेको छ ।


तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधार सहितको कार्यतालिका ल्याउन नेपाल सरकार र सम्बद्ध पक्षलाई माग गर्दै बालबालिकाको अधिकार, मनोविज्ञान र भविष्यलाई मध्यनजर गर्दै प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरूसँग समन्वय गरेर अवरुद्ध रहेको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र विद्यार्थी भर्ना कार्यलाई सहजिकरण गर्नुहुन देशभरीका विद्यालय व्यवस्थापन समितिहरूलाई आह्वान गरेको हो ।


जारी विज्ञप्तिमा भनिएको छ ‘शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हडतालबाट करिब २८ हजार सामुदायिक विद्यालयहरूका विद्यार्थीको परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध रहेकोले लाखौँ बालबालिकाको अधिकार र मनोविज्ञानमा परेको गम्भीर असर र अभिभावकहरूमा छाएको अन्योलता प्रति महासङ्घ चिन्तित छ ।’


यसैगरी तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधार सहितको कार्यतालिका ल्याउन नेपाल सरकार सँग माग गर्दै आपसी संवाद मार्फत समस्याको निकास खोज्न र तत्काल शिक्षकहरूलाई सडकबाट विद्यालयमा फर्काउन दुबै पक्षसँग आग्रह गरको छ ।