काठमाडौँ /९ बैशाख – नेपाल शिक्षक महासङ्घले बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्की आएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्की सहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब आएको जनाएको हो ।
महासङ्घले यस विषयमा ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ । साथै परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालयका कर्मचारीमा आग्रह गरेको छ ।
यसैगरी विगत २१ दिन देखि काठमाडौँमा शिक्षक – कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियान चलीरहेको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन सबै केन्द्राध्यक्षहरूलाई महासङ्घको आग्रह छ ।
यस्तो छ महासङ्घको विज्ञप्ति
मिति २०८२ बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्की सहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब आएको कुराप्रति हाम्रो ध्यानाकर्षण भएको छ । विगत २१ दिन देखि काठमाडौँमा व्यापक सहभागिता सहित चलीरहेको शैक्षिक सडक आन्दोलनलाइ बल दिदै विद्यालय, विद्यार्थी र शिक्षक – कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ । साथै सबै केन्द्राध्यक्ष साथीहरूलाई काठमाडौँमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन आउनुहुन समेत अनुरोध गर्दछौ ।



