काठमाडौं/७ बैशाख – अभिभावक संघ नेपाल, केन्द्रीय समितिले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी रहेको र शिक्षकका जायज मागहरू तत्काल पुरा गर्नुपर्ने, शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने उल्लेख गर्दै विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्र बाट सम्मान गरिनुपर्ने संघको भनाई छ ।
विगत १९ दिन देखि शिक्षकहरूबाट विभिन्न मागहरू राखेर गरिएको आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना जस्तो कुरा प्रभावित हुँदा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको ठहर छ ।
पत्रमा भनिएको छ ‘शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी छ, शिक्षकका जायज मागहरू तत्काल पुरा गर्नुपर्छ भन्ने कुरामा किन्तु परन्तु हुन सक्दैन , शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउँछ तसर्थ शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न हुदैन साथसाथै विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्र बाट सम्मान गरिनुपर्छ भन्ने कुरामा हामी दृढ छौँ, यस्तै यावत् विषयका साथ आसन्न कक्षा १२ को परीक्षा समेत प्रभाव हुन सक्ने तर्फ मानव अधिकार आयोगको समेत हामी गम्भीर रूपमा ध्यानाकर्षण गराउन चाहन्छौ, विद्यार्थीहरूको पढ्न पाउने हक बाल अधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू सञ्चालनमा आउनसक्ने विद्यार्थीहरूका पठनपाठन हुनसक्ने १२ कक्षाको राष्ट्रिय परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन आम अभिभावक तथा विद्यार्थीहरूका तर्फबाट जोडदार माग समेत गर्दछौँ ।’




