काठमाडौँ /७ चैत – विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको नेपाल शिक्षक महासङ्घले आजदेखि रिले अनसन सुरु गरेको छ । महासङ्घको दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको हो ।
शिक्षा तथा मानव स्रोत केन्द्रमा आजदेखि चैत १५ गतेसम्म बिहान ८ बजेदेखि ६ बजेसम्म अनसन रहने महासङ्घले जनाएको छ । आज पहिलो दिन आन्दोलन परिचालन संयोजन नानुमया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक-कर्मचारी अनसनमा बसेका छन् ।
महासङ्घले आजबाट सुरु भएको एसईईको परीक्षालाई मध्य नजर गरेर अनसन बसिएको र चैत २० गतेदेखि सडक आन्दोलनमा जाने जनाएको छ । आन्दोलन शिक्षकहरूसँग गरेका सहमतिको सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन नआएसम्म जारी रहने महासङ्घको भनाई छ ।
नेपाल शिक्षक महासङ्घका महासचिव तुला बहादुर थापाले विद्यालय शिक्षा एैन जारी गराउन सरकारलाई दबाब दिने उदेश्यले आन्दोलनमा उत्रनु परेको उल्लेख गर्दै राज्यले जे सोचेपनि, जे गरेपनि ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताए । नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले सरकारले संसद खोलोस बन्द गरोस सरोकार नभएको तर शिक्षा ऐन नआएसम्म आन्दोलन बन्द नहुने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारीले महासँको अगुवाइमा सरकारले पटकपटक गरेका सम्झौता अनुसार विद्यालय शिक्षा आउनुपर्नेमा जोड् दिए । उनले सरकाररले यही हिउँदे अधिवेशनमा विद्यालय शिक्षा ऐन नल्याए शैक्षिक क्षति हुने र यसको जिम्मेवार सरकारनै हुने चेतावनी दिएका छन् । अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लछिराम शर्मा ढकालले भने ‘आन्दोलनको अन्तिम दिन त्यो दिन रहन्छ, जुन दिन विद्यालय शिक्षा ऐन सरकारले ल्याउछ ।’
नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले यदी गलत थियो भने सरकारले महासङ्घसँग किन सम्झौता गरेको भन्ने प्रश्न राख्दै स्थानीय तहमा विद्यालय शिक्षा हस्तान्तरण गरिएको विरुद्धमा पनि आन्दोलन गरिएको र एक लाख भन्दा बढी शिक्षक सडकमा आएपछि सरकारले माग सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे । उनले केही व्यक्तिहरूले शिक्षकहरूको विरोध गरिरहेको उल्लेख गर्दै त्यसप्रति ध्यानाकर्षण भएको बताए । माग पुरा हुँदा एक जनाको मात्रै नभएर सबै शिक्षकहरूको माग पुरा हुने बताउँदै अहिले शिक्षक असन्तुष्ट भएका वेला शिक्षक विरुद्ध बोल्नु गलत भएको बताए ।