आजदेखि एसईई परीक्षा सुरु

भक्तपुर/७ चैत – बिहान ८ बजेदेखि ११ बजेसम्म देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ एसईई परीक्षा सुरु हुँदैछ ।


यस वर्षको एसइई परीक्षामा ५ लाख १४ हजार ७१ जनाले परीक्षा दिने बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सातसय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।


प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको र देशभर परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन बोर्ड लगायत सबै निकायहरुले आव्हान गरेका छन् । परीक्षामा एकसय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराख्ने भएको छ ।


यसैगरी यो वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिने र काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।

साथै एसइईमा कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि ४ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
परीक्षा तालिका अनुसार एसइई परीक्षा चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुनेछ