नेपाल शिक्षक महासङ्घ भोलिदेखि रिले अनसनमा बस्ने

काठमाडौं/६ चैत – विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासङ्घले भोलिदेखि रिले अनसन सुरु गर्ने भएको छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत चैत ७ गतेबाट १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन गर्ने भएको हो ।


अनशन हरेक दिन बिहान ८ः०० बजेबाट सुरु भई बेलुका ६ः०० बजेसम्म बस्ने नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदिले जानकारी दिए । उनले पहिलो दिन सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारीहरू अनशनमा बस्ने बताए ।


यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले महासङ्घले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेटेर यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने महासङ्घको माग रहेको छ ।


यस अघि फागुन २७ गतेदेखि चैत ५ गतेसम्म विभिन्न दलका पार्टी कार्यालयमा धर्ना दिन दिएको थियो । साथै चैत २० गतेबाट काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने महासङ्घले जनाएको छ ।