कास्की/२३ फागुन – गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलले शिक्षक जस्तो सम्मानित पेशामा आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै पनि आफ्नो लागि कानुन निर्माण गर्न आफैँ आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् । पटक पटक भएका सम्झौता कार्यान्वयन नहुँदा आन्दोलनमै गएर सरकारलाई सम्झाउन पर्ने अवस्था सिर्जना हुनु दुखद रहेको भन्दै सो कुरा बताएका हुन् ।
नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशको प्रतिनिधिसभा कार्यक्रममा बोल्दै शिक्षकका यावत समस्यालाई सम्बोधन गर्ने गरी संसदको यसै अधिवेशनबाट शिक्षा ऐन जारी गर्न सबै पक्ष सकारात्मक भई अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । साथै महामन्त्री लगायतका व्यक्तिहरूलाई दबाब सिर्जना गरी शिक्षकमैत्री ऐन जारी गर्न आफूले पूर्णरूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका माननीय जीत शेरचनले शिक्षकहरूले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान र शैक्षिक क्षेत्रमा शिक्षकले गरेको महत्वपूर्ण योगदानलाई भुल्न नहुने बताए । शिक्षा र शैक्षिक क्षेत्र प्राथमिकतामा रहनुपर्ने उनको भनाई थियो ।
गण्डकी प्रदेशका ११ वटा जिल्ला र ८५ वटा पालिकाहरूको प्रतिनिधित्व रहेको उक्त प्रतिनिधिसभा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा गण्डकी प्रदेशका पालिका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक महासङ्घ र नेपाल ट्रेड युनियन काँग्रेसका प्रतिनिधिहरू साथै प्रत्येक जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभामा महासचिव शिवराज अधिकारीको साङ्गठनिक प्रतिवेदन र महासचिव अर्थ गायत्री आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन उपर बृहत् छलफल भई उक्त प्रतिवेदनहरू पारित गरिएको थियो । सभामा जिल्लाका जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लामा गरेका गतिविधिहरू प्रस्तुत गरेका थिए भने उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाल शिक्षक संघ म्याग्दी जिल्ला कार्यसमितिलाई र तमान खोला गाउँपालिका स्थानीय कार्यसमितिलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको गण्डकी प्रदेशका प्रवक्ता एवं सूचना तथा सञ्चार विभाग प्रमुख श्रीकृष्ण आचार्यले जानकारी दिए ।
करिब ९ हजार शिक्षक आबद्ध शिक्षक सङ्घ गण्डकी प्रदेशले आफ्ना भावी कार्यक्रममा आगामी शैक्षिक सत्र भन्दा अगाडि नै ११ वटै जिल्लामा पुगेर एआईसँग सम्बन्धित तालिम सञ्चालन गर्ने योजना स्वीकृत गरेको आचार्यले बताए ।



