काठमाडौँ/१९ फागुन – फागुन २६ र २७ गते हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यब्सन)को १६ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाइएको छ ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने महाधिवेशनका विषयमा जानकारी दिने उदेश्यले आज आयोजित पत्रकार सम्मेलनमा मार्फत सो कुराको जानकारी दिइएको हो ।
प्यब्सनका अध्यक्ष डिके ढुङ्गानाले भरसक सर्वसम्मत गर्ने, काकार गरेर जाने गरी तयारी भईरहेको बताए । उनले प्यब्सनलाई डिजिटल प्रणालीमा लगिएको उल्लेख गर्दै देशै भरबाट १५०४ प्रतिनिधिले रजिस्ट्रेसन अनलाइन मार्फत गरिसकेको जानकारी दिए ।
त्यसैगरी महाधिवेशनका प्रमुख अतिथि तथा उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने जनाइएको छ । साथै शिक्षामन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विभिन्न दलका शिक्षा हेर्ने विभागीय प्रमुखहरू लगायत शिक्षा क्षेत्रसँग जोडिएका महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहने बताए ।

साथै ४० जना सर्वेक्षण रहने र सबै क्षेत्रबाट गरेर करिब २ हजार प्रतिनिधिहरूको सहभागीता रहने प्रारम्भिक अनुमान गरिएको ढुङ्गानाले बताए । दुई दिनसम्म चल्ने महाधिवेशनमा पहिलो दिन व्यवसायी छलफल, उद्घाटन सत्र, बन्द सत्र हुनेछन् भने दोस्रो दिन निर्वाचन र सोसँग सम्बन्धीत विषयहरूमा कार्यक्रमहरू हुने जानकारी दिइयो ।



