काठमाडौँ /१९ फागुन – काठमाडौँ विश्वविद्यालयको रिक्त रहेको उपकुलपति पदमा लामो समयसम्म पनि नियुक्ति नगरिएको भन्दै काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक विकासमा दूरगामी असर पार्ने निश्चित रहेको उल्लेख गर्दै पहिलो चरणमा शान्तिपूर्ण दबाब कार्यक्रम सहित आन्दोलनको घोषणा गरेको हो ।
संघले सात दिनको अवधि तोक्दै विश्वविद्यालयको नयाँ उपकुलपति खोज तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुङ्गोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन सम्माननीय कुलपति तथा सहकुलपति समक्ष अपिल गरेको छ । साथै सात दिन भित्र पनि उपकुलपति नियुक्त नभएमा प्राध्यापक संघ अर्को चरणको दबाबमूलक आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ ।
‘काठमाडौँ विश्वविद्यालय नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालन नभई आफ्नै स्रोत साधनबाट आर्थिक व्यवस्थापन गर्दै आत्मनिर्भर हुने गरी सञ्चालित विश्वविद्यालय हो । यस अवस्थामा, विश्वविद्यालयलाई दिगो रूपमा सञ्चालन गर्न क्षमतावान् नेतृत्व अपरिहार्य छ । तर २०८१ माघ ६ गतेबाट उपकुलपति पद रिक्त रहेको र उपकुलपतिको मातहतमा रहने कार्यकारी परिषद् पनि निष्क्रिय हुने हुँदा विश्वविद्यालयका नियमित शैक्षिक गतिविधिहरू यथावत् रहे पनि दीर्घकालीन रूपमा गम्भीर असर पर्न सक्ने देखिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
विशेषतः पदाधिकारीहरूको कार्यकाल समाप्त भएपछि नयाँ पदाधिकारीहरूको नियुक्ति, शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकाससँग सम्बन्धित निर्णय, तलब वृद्धिको निर्णय, नियमित शैक्षिक कार्य तथा अनुसन्धानमूलक कार्यहरूका लागि आवश्यक पर्ने खरीद प्रक्रिया जस्ता विश्वविद्यालयको दिगो सञ्चालनका लागि अन्य अत्यावश्यक कार्यहरू निमित्त उपकुलपतिबाट गर्न कानुनी रूपमा सम्भव नरहेको बताउँदै शीघ्र उपकुलपति नियुक्ति गर्न संघको माग रहेको छ ।
२०८१ फाल्गुन १८ गते प्रकाशित विज्ञप्ति मार्फत काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघले तीन दिन भित्र आवश्यक प्रक्रिया टुङ्ग्याई उच्च प्राज्ञिक क्षमता भएको व्यक्तिलाई नयाँ उपकुलपति नियुक्त गर्न सार्वजनिक अपिल गरेको स्मरण समेत गराएको छ । ‘आजको मितिसम्म पनि नयाँ उपकुलपति नियुक्त नभएकाले यस प्राध्यापक संघ सात दिनका लागि पहिलो चरणमा शान्तिपूर्ण दबाब कार्यक्रम सहित आन्दोलनको घोषणा गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।



