शिक्षामा नव-प्रवर्तन : शिक्षाले विद्यार्थीको सिर्जनशीलता विकास गर्नुपर्छ

काठमाडौँ /१९ फागुन – किङ्गस कलेज र नेपाल कम्युनिभर्सिटीको संयुक्त पहलमा ’सामाजिक नव–प्रवर्तन फेलोसिप–२०२५’ नामक एक शैक्षिक कार्यक्रम सम्पन्न भएको छ । समुदायभित्र रहेका सीप, साधन, स्रोत र ज्ञान तथा समुदायकै समस्या, अवसर र सम्भावनाबाट समग्र शिक्षा प्रणाली विमुख भईरहेको सन्दर्भलाई उल्लेख गर्दै शिक्षा र समुदाय जोड्ने उदेश्यले अभियानका रूपमा सामाजिक नव–प्रवर्तन फेलोसिप सञ्चालन गरिएको हो ।


शिक्षालाई समुदायसँग जोड्ने उद्देश्यले करिब ४ वर्षदेखि कम्युनिभर्सिटी नामक अभियानका रूपमा यसको सुरुवात गरिएको किङ्गस कलेजले जनाएको छ । पाँचखाल नगरपालिकासँग सहकार्य गरेर समुदायका विषयलाई पाठ्यक्रममा ल्याउने र पाठ्यक्रम अध्यापनको सिलसिलामा समुदायका सदस्यसँग मिलेर सह–चिन्तन र सह–सिर्जना गर्ने गरेको कलेजको भनाई छ ।


यसै विषयमा यो वर्ष सामाजिक नव–प्रवर्तन फेलोसिप २०२५ सञ्चालन गरिएको र सिन्धुपाल्चोकको हेलम्बु, काभ्रेको पाँचखाल र धनुषाको जनकपुर गरी तीन स्थानमा पुगेर विद्यार्थीहरूले समाज र समुदायका बारेमा अध्ययन गरेका थिए । ति तीनवटै स्थानमा विद्यार्थीहरूले स्थान विशेषको चरित्र सहित सूचना प्रविधि, उद्यमशीलता र अन्तर–पक्षीय पहिचान विषयको अध्ययन गरेका थिए ।


गत पुस १९ गतेदेखि फाल्गुन १७ सम्म सञ्चालित यस कार्यक्रमले विद्यार्थीहरूलाई विद्यमान अवस्थामा समाजमारहेका विषयहरूसँग परिचित गराई, तिनीहरूको विश्लेषण सहित उद्यमशील सोच मार्फत समाधानका उपाय उन्मुख गराउने उद्देश्य राखेको थियो ।


हरेक दिन करिब ३ हजार युवा राम्रो अवसरको खोजीमा नेपाल छोडेको अवस्थामा तिनीहरू मध्ये अधिकांश आफ्ना प्रियजनहरूबाट टाढा रहने पीडा सहँदै कठोर कार्यस्थितिमा सस्तो श्रमिकका रूपमा सीमित रहेको उनिहरूको भनाई छ । अर्कोतर्फ, नेपालले आफ्नो सम्भावना उजागर गर्न आवश्यक युवा, सिर्जनशील र नवप्रवर्तक जनशक्ति गुमाइरहेको बताए । यस्तो अवस्थामा शिक्षाले विद्यार्थीहरूको सन्दर्भ र जीवन अनुभवसँग कम सम्बन्ध राख्ने विषयहरूले सैद्धान्तिक ज्ञानमा मात्र जोड दिएको, शिक्षालयहरूले विद्यार्थीहरूको रुचिलाई आकर्षित गर्न नसकेका र उनीहरूमा सिर्जनशीलता विकास गर्न र व्यावहारिक ज्ञान र सीप प्रदान गर्न नसकेको निष्कर्ष निकालेका छन् ।


कक्षाकोठाहरू समुदायबाट टाढा रहँदा युवाहरू समुदायका समस्या र अवसरहरूसँग अनभिज्ञ रहने गरेकोले समुदायप्रति अपनत्वको अनुभूति गर्न नसक्ने अध्ययनले देखाएको छ । शिक्षाले अर्थतन्त्रसँग जोड्न नसक्दा युवाहरू देश छोड्न बाध्य भएको उल्लेख गर्दै नेपालको शिक्षा प्रणालीलाई पुनर्विचार गर्नु आवश्यक रहेको कम्युनिभर्सिटीमा आबद्ध विद्यार्थीहरूको भनाई छ ।