काठमाडौँ /१८ फागुन – चौथो निप्स ताफिसा २०२५ सम्पन्न भएको छ । सो खेलकुद कार्यक्रममा २१ मन्टेसरी स्कुलका ४ सय २५ बालबालिकाहरूले भाग लिएका थिए ।
राष्ट्रिय प्रहरी स्पोर्टस क्लब महाराजगन्जमा आयोजना गरिएको उक्त कार्यक्रमका विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निजीस्तरबाट भव्य रूपमा आयोजना गरिएको कार्यक्रमलाई अबका दिनहरूमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै म्यान टिम, सम्पूर्ण आयोजक कमिटी, अभिभावक, बालबालिका तथा शिक्षकहरूलाई धन्यवाद दिए ।
म्यानकी अध्यक्ष सुश्मा लामाले १ सय ७० वटा राष्ट्र सदस्य रहेको अन्तरराष्ट्रिय खेल संस्था ताफिसाको म्यान सदस्य रहेको बताइन ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यको प्रमुख आतिथ्य र नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङको विशेष अतिथि रहेका थिए भने अन्य खेल सम्बन्धी राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।



