प्युठान/१४ फागुन – प्युठानको गौमुखी गाउँपालिका ५ खुङ्गामा रहेको श्री जनसहयोगी माध्यमिक विद्यालयले सार्वजनिक विदाको दिनमा पनि पठनपाठन गर्ने निर्णय गरेको छ । लगातार ४ दिन सार्वजनिक विदा परेकोले लामो विदाले वार्षिक परीक्षालाई असर पर्ने भन्दै पठनपाठन गर्ने निर्णय गरेको हो ।
विद्यालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ ‘फागुन १४ गते महाशिवरात्री, १५ गते मगर दिवस, १६ गते ग्याल्पो ल्होसार र १७ गते शनिवार सहित लगातार ४ दिन सार्वजनिक बिदा परेकोमा लामो बिदाले वार्षिक परीक्षालाई असर पर्ने हुँदा मिति २०८१ फागुन १३ गतेको शिक्षक स्टाफको बैठकको निर्णयानुसार १४, १५ र १६ गते ३ दिन नियमित पठनपाठनका साथै विद्यालय खुला रहने सरोकारवाला सबैलाई जानकारी गराइन्छ ।’
साथै उक्त दिन विद्यार्थीहरूलाई विद्यालय उपस्थित गराई सहयोग गरिदिनुहुन सम्पूर्ण अभिभावकहरूलाई प्रधानाध्यापक अमृत केसीले अनुरोध गरेका छन् ।



