काठमाडौँ विश्वविद्यालयका डिनहरूले भने : छिटो उपकुलपति पठाउनु

काठमाडौँ /१४ फागुन – काठमाडौँ विश्वविद्यालयका डिनहरूले उपकुलपति खोज तथा सिफारिस समितिलाई तीन जनाको नाम यथाशीघ्र छिटो सिफारिस गर्न ध्यानाकर्षण गराएका छन् ।


समितिले विभिन्न चरण पार गरि अन्तिम चरणको तीन जनाको नाम समयमै सिफारिस गरि ती मध्येबाट एक जना उपकुलपतिका रूपमा विश्वविद्यालयले छिट्टै पाउने आशा रहेको उल्लेख गर्दै ध्यानाकर्षण गराएका हुन् ।


समिति आफैले बनाएको कार्यविधि र त्यसले माग गरेको प्रक्रिया, छनौटका लागि तय मापदण्ड समेतका आधारमा, तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेमा अन्यथा नहुने र सञ्चार माध्यममा आएका कुराहरू गलत साबित हुने विश्वस्त रहेको डिनहरूको भनाई छ ।


प्रक्रियामा सामेल भइ प्रस्तुति र अन्तर्वार्तामा सम्मिलित भइ आएका उम्मेद्वारहरूले पाएको अंकलाई तोडमोड गरिदै छ, प्रक्रिया सुरु भइसके पश्चात् नाम सिफारिसका लागि वस्तुपरक नदेखिने प्रकारका नयाँ नयाँ सर्त अघि सार्ने काम भएकाले समितिमा अरू सदस्यलाई अप्ठ्यारो परेको छ भन्ने जस्ता सञ्चार माध्यमहरू मार्फत प्रेषित भनाइहरूलाई गलत साबित गरि खोज तथा सिफारिस समिति आफैले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र छिटो सिफारिस हुनेमा हामी सबै आशावादी छौँ ध्यानाकर्षण पत्रमा भनिएको छ ।


साथै बिचमा छनौट प्रक्रियालाई लिएर विभिन्न सञ्चार माध्यम मार्फत आइरहेका टिप्पणीहरूले ध्यानाकर्षण भएको समेत जनाइएको छ । विश्वविद्यालयका स्कुल अफ एजुकेशन, स्कुल अफआर्टस, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ मेडिकल साइन्स, स्कुल अफ साइन्स, स्कुल अफ ल, स्कुल अफ इन्जिनियरिङका डीन तथा एसोसियट डीन गरी १३ जनाको हस्ताक्षरसहित संयुक्त वक्तव्य मार्फत ध्यानाकर्षण गराएका छन् ।