युनिग्लोब कलेजका १४ विद्यार्थी स्वर्ण पदकसहित पोखरा विश्वविद्यालयबाट दीक्षित

काठमडौं/९ फागुन – पोखरा विश्वविद्यालयले २०औं दीक्षान्त समारोह यही २०८१ फागुन ८ गते (फेब्रुअरी २०, २०२५) पोखरा विश्वविद्यालय स्थित ढुंगेपाटन, कास्कीमा सम्पन्न गरेको छ । शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले गरेका थिए । उक्त दीक्षान्त समारोहमा ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित भएका छन् भने ३० जना विद्यार्थीलाई विशिष्ट स्वर्ण पदक र ७ सय ४५ विद्यार्थीलाई डिन लिस्टको उपाधिबाट सम्मानित गरिएको थियो ।


यस अवसरमा काठमाण्डौंको नयाँ बानेश्वरमा अवस्थित युनिग्लोब कलेजका १४ जना विद्यार्थीहरूले ४.०० जिपिए सहित स्वर्ण पदकप्राप्त गरेका छन् । जसमा विराट गौतम, झरना रेग्मी, जोसिला दाहाल, रमन सिलवाल, श्रुति आचार्य, आकृति देवकोटा, आस्तिका महतो, निशा खड्का, नितिशा गौतम, रश्मी पौड्याल, अप्सरा ईमाम, अक्लेश कुमार मिश्र, कौशिकी पन्त र मनिषा कुमारी कार्की रहेका छन् । साथै युनिग्लोब कलेजका ४८ जना विद्यार्थीहरूले डिन लिस्टको स्थान हासिल गर्न सफल भएका छन् ।


यसअघि पनि पोखरा विश्वविद्यालयको विभिन्न दीक्षान्त समारोहरूमा युनिग्लोब कलेजका २१ जना विद्यार्थीहरूले स्वर्ण पदक प्राप्त गरिसकेका छन् । हालसम्म ३५ वटा स्वर्ण पदक प्राप्त गर्दै युनिग्लोब कलेज नेपालमा पोखरा विश्वविद्यालय अन्तर्गत सबै भन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित भएको छ ।


यूनिग्लोब कलेजका प्रबन्ध निर्देशक डा. गङ्गाधर दाहालले आगामी दिनहरूमा पनि उत्कृष्ट शिक्षा प्रदान गर्ने तथा विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक सफलता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । युनिग्लोब कलेजका प्राचार्य तथा अध्यक्ष डा. नर बहादुर बिष्टले यस वर्षको दीक्षान्त समारोहमा युनिग्लोब कलेजका विद्यार्थीहरूले प्राप्त गरेको यो उपलब्धि कलेजले शिक्षा क्षेत्रमा गरेको निरन्तर प्रयास र प्रगतिको प्रमाण रहेको बताए । उनले स्वर्ण पदक र डिन लिस्ट प्राप्त गर्ने विद्यार्थीहरूले आफ्नो मेहनत र लगनशीलताको परिचय दिएको कुरा व्यक्त गरे । आफ्ना सम्पूर्ण दीक्षित विद्यार्थी, शिक्षक, अभिभावकहरू तथा प्रशासनिक कर्मचारीहरूलाई यस उपलब्धिमा योगदान पु¥याएकोमा धन्यवाद दिए ।


साथै युनिग्लोब कलेजका शैक्षिक निर्देशक प्रा.डा. राधे श्याम प्रधानको मार्ग निर्देशनमा यस कलेजले उल्लेखनीय सफलता हासिल गरेको र उनको नेतृत्व र शैक्षिक क्षेत्रप्रतिको लगाव र समर्पणले विद्यार्थीको शैक्षिक क्षमतालाई विकास गर्न महत्वपूर्ण भूमिका निभाएको कुरा बताए ।


सन् २०१८, २०१९ र २०२२ मा सर्वोत्कृष्ट बिजनेस कलेज अवार्डहरूबाट समेत सम्मानित यस कलेजले हालसम्म १३ वटा अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक आयोजना गरिसकेको छ । यस कलेजका ४ सय ५० भन्दा बढी विद्यार्थीहरूले ६० भन्दा बढी विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय सम्मेलन र तालिममा भाग लिईसकेका छन् । यसका अतिरिक्त युनिग्लोब कलेजले चार वटा त्रैमासिक अनुसन्धानमूलक जर्नलहरूको प्रकाशन गर्दै विद्यार्थीहरूको अनुसन्धानमूलक कार्यलाई अन्तर्राष्ट्रिय स्तरका परिचित गर्न सफल भएको छ । साथै इन्टरप्रेनियरसिप इन्क्युबेशन सेन्टर, फाइनान्स ल्याब, कम्युनिकेशन ल्याब र अन्य सीपमूलक तालिमहरू सहित अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने सर्वोत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ ।