काठमाडौं/९ फागुन – नेपाल शिक्षक महासङ्घ आबद्ध १५ संघ संगठनहरूले एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण कार्यक्रममा सक्रिय सहभागी हुन अपिल गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ नयाँ आन्दोलनको थालनी भइ सकेको उल्लेख गर्दै आन्दोलनमा जुट्न अपिल गरेका हुन् ।
यसक्रममा पटक पटक आन्दोलन भई सरकारसँग महत्वपूर्ण सहमतीहरू भएका छन् । विगतमा भएका ती सबै सहमतिलाई कार्यान्वयनका लागि एक पटक फेरि आन्दोलन गर्नुपर्ने अवस्था हाम्रा सामु आइपरेको छ । त्यसैले विगतका सबै सहमतीहरू सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यका साथ नयाँ आन्दोलनको थालनी भइ सकेको छ अपिल गर्दै भनिएको छ ।
यसैगरी फागुन २४, २०८१ सम्ममा पहिलो चरणका कार्यक्रम सम्पन्न हुँदै गरेको जानकारी दिँदै त्यस लगत्तै दोस्रो चरण आरम्भ हुने जनाएका छन् । दोस्रो चरणमा असहयोगात्मक, अबरोधात्मक र राजधानी केन्द्रित सडक आन्दोलनका कार्यक्रम ल्याइने महासङ्घले भनेको छ । आन्दोलनलाई निर्णायक र उपलब्धिमूलक बनाउन सम्पूर्ण कार्यक्रममा सक्रिय सहभागी हुन आफ्ना पालिका, जिल्ला र प्रदेश संरचना तथा सबै नेपाली शिक्षक कर्मचारीहरूलाई अपिल गरेको छ ।




