काठमाडौं/९ फागुन – भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न सकिने जनाएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले विद्यार्थीहरुलाई अध्ययनको लागि समस्या नहोस भनेर उक्त निर्णय गरेको हो ।
प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीले आन्दोलन गरेको भन्दै केआईआईबाट विश्वविद्यालयबाट निकालिए पछि नेपाल फर्किएका तथा नेपाल आएर पढ्न चाहेका विद्यार्थीहरूलाई पढाईमा समस्या नहोस भनेर क्रेडिट ट्रान्सफर गरे पूर्वाञ्चल विश्वविद्यालयका जुन सुकै आंगिक वा सम्बन्धन प्राप्त कलेजमा पढ्ने व्यवस्था मिलाइने उपकुलपति डा. बिजु थपलियाले बताए ।
उनले शिक्षा मन्त्रालयले सहजिकरण गरेर प्रक्रिया पुरा गरे क्रेडिट ट्रान्सफर ल्याउने विद्यार्थीलाई उनिहरूको सहजतामा पायक पर्ने आंगिक कलेज वा सम्बन्धन प्राप्त कलेजमा पढ्न सक्ने व्यवस्था गर्न सकिने निर्णय गरिएको बताए ।
उनले भने ‘विद्यार्थीले नेपालमै पढ्न चाहन्छन् र उताको विश्वविद्यालयले विद्यार्थीलाई क्रेडिट ट्रान्सफर गरिदिएको खण्डमा पूर्वाञ्चलमा पढ्न सक्ने निर्णय गरेका छौँ । त्यसका लागि प्रक्रिया पुरा गर्न शिक्षा मन्त्रालयले समन्वय गरिदिनु पर्छ । यसका लागि शिक्षा मन्त्रीलाई भनिसकेका छौँ । विद्यार्थीलाई पढ्नबाट वञ्चित गर्दैनौं । विश्वविद्यालयको कोटा अनुसार व्यवस्था गर्छौ ।’
ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोय नारायण पौडेलले नेपालका विश्वविद्यालय तथा कलेजमा केआईआईटीसँग धेरै कोर्स मिल्ने भएकोले नेपालमै पढ्न चाहाने विद्यार्थीलाई कलेजहरूमा पढाउन कुनै समस्या नभएको जानकारी दिए । उनले विश्वविद्यालयले गरेको निर्णय अनुसार प्रक्रिया पुरा गरेर आएका विद्यार्थीलाई पढाउन सकिने र त्यसका लागि शिक्षा मन्त्रालयले समन्वय गर्नुपर्ने धारणा राखे ।



