काठमाडौं/२८ माघ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एउटै विद्यालयमा ५ वर्ष सेवा अवधि पुरा भएका शिक्षकहरूको सरुवा गर्ने भएको छ । नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयका पूर्व प्रधानाध्यापक, एउटै विद्यालयमा ५ वर्ष सेवा अवधि पुरा गरेका शिक्षक, नगर शिक्षण सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय गरेको हो ।
सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रमसहित फागुन १२ गतेभित्र नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने छ ।
पालिकाले ६३ नगर शिक्षक, नौ जना सङ्घीय अनुदानका शिक्षक गरी ७२ जना, प्राथमिक तहका स्थायी ७३, निम्न माध्यमिक तहका १६, माध्यमिकका आठ स्थायी शिक्षकको दरबन्दी मिलान, व्यवस्थापन गरिने जनाएको छ ।
यसैगरी उच्च माविका दुई, राहत कोटाका प्राथमिक तहका ५०, निम्न माध्यमिक विद्यालयका २३, माध्यमिक तहका २४, साविक उच्च माविका आठ र बालविकासका ६५ शिक्षकको व्यवस्थापन गरिने भएको छ ।



