आगामी शैक्षिक सत्रका लागि ८० प्रतिशत पाठ्यपुस्तक छपाईको काम सकियो

काठमाडौँ /२९ माघ – पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८२ का लागि विद्यालय तहका ८० प्रतिशत पाठ्यपुस्तक छपाईको काम सकिएको जनाएको छ । फागुन १५ गतेसम्म कक्षा १ देखि १० सम्मका सबै पाठ्यपुस्तक छपाईको काम सक्ने गरी अगाडी बढेको जनाएको हो ।


केन्द्रले फागुन १५ गतेपछि दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गर्न योजना रहेको र पाठ्यपुस्तक अनुगमन समितिले देशै भर अनुगमन कार्ययोजना बनाएर अनुगमन गर्ने तयारी गरिएको जनाएको छ ।


कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाईको काम विराटनगर, धनगढी र काठमाडौँमा गरी ७ वटा निजि पब्लिकेशनलाई दिइएको र अन्य कक्षाको छपाई जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको केन्द्रको भनाई छ ।


पाठ्यक्रम विकास केन्द्रका अनुसार इसिडीमा ६ लाख २१ हजार ५ सय ७ विद्यार्थी सङ्ख्या रहेको, कक्षा १ मा ५ लाख ४ हजार ३ सय ६, कक्षा २ मा ४ लाख २२ हजार २ सय ८७, कक्षा ३ मा ४ लाख २० हजार ६ सय ४१, कक्षा ४ मा ४ लाख २३ हजार ३ सय ९५, कक्षा ५ मा ४ लाख ३० हजार ८ सय ५, कक्षा ६ मा ४ लाख १३ हजार ३ सय ९०, कक्षा ७ मा ४ लाख १४ हजार ६ सय ४५, कक्षा ८ मा ४ लाख ५३ हजार २ सय ३०, कक्षा ९ मा ३ लाख ७० हजार ३ सय ७२ र कक्षा १० मा ३ लाख ५७ हजार ६ सय १६ विद्यार्थी सङ्ख्या रहेको र इसिडी देखि कक्षा १० सम्म गरेर कुल ४८ लाख ३२ हजार १ सय ९४ जना विद्यार्थीका लागि पाठ्यपुस्तक छपाई भइरहेको जनाएको छ ।