सामुदायिक विद्यालय विस्तारै स्रोत साधनयुक्त हुँदै गएका छन् : खड्का

तुल्सीपुर/२२ माघ – तुल्सीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सामुदायिक विद्यालयहरू पनि विस्तारै स्रोत साधनयुक्त हुँदै गएको बताउका छन् । वडा नम्बर १६ मा रहेको लक्ष्मी माविले ६२ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।


नगरप्रमुख खड्काले सामुदायिक विद्यालयहरूको अवस्था सुधारका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै अभिभावक ध्यान आकर्षित गर्न सामुदायिक विद्यालयहरूले शिक्षाको गुणस्तर बृद्धि गर्न ध्यान दिनुपर्नेमा जोड दिए । “सामुदायिक विद्यालयहरू पनि विस्तारै स्रोत साधनयुक्त हुँदै गएका छन्, हामी संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने भएका छौ” खड्काले भने ।


वडाध्यक्ष शिवानन्द डाँगीले लक्ष्मी माविको विकासका लागि वडा सरकार प्रतिबद्ध रहेको बताए । उनले विद्यालयलाई नमुनाका रूपमा अगाडी बढाउनका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


शिक्षा महाशाखाका अधिकृत मनबहादुर खड्काले अभिभावकले आफ्ना बालबालिकाको शैक्षिक अवस्थाका बारेमा चासो दिनुपर्नेमा जोड् दिए । कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थीका साथै विद्यालयका पूर्व अध्यक्ष र प्रधानाध्यापकहरूलाई सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरिदिने गिरिराज बस्नेतलाई पनि सम्मान गरिएको थियो ।