काठमाडौँ /२१ माघ – शिक्षक नियुक्तिमा अनियमितता गर्ने ९ जान विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार अनुसन्धान आयोगले देउराली माध्यमिक विद्यालय, गुल्मीका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
गुल्मीको कालीगण्डकी गाउँपालिका, वडा नं. १ हर्मीचौर स्थित देउराली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा गैरकानुनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुस्ट तलब बुझेको आयोगले जनाएको छ ।
उनिहरूले कक्षा ९–१० को अङ्ग्रेजी, गणित वा विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आएको शिक्षण सिकाई अनुदानको रकम शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी निकासा गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘देउराली माध्यमिक विद्यालयले “प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भए अनुसारको विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्ने”मा शिक्षक छनौटको कुनै कानुनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको, निजको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालीगण्डकी गाउँपालिका, गुल्मीमा पेस गरी गैरकानुनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुस्ट तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षणसमेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएबाट उक्त कार्यमा संलग्न प्रतिवादीहरूलाई कसुर तथा सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप–पत्र दायर गरिएको छ ‘ विज्ञप्तिमा भनिएको छ ।



