अनुमति नभएको स्थानमा शाखा नखोल्न शैक्षिक परामर्श संस्थालाई निर्देशन

काठमाडौं/२१ माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति पाएको विषय, क्षेत्र र स्थान बाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा नखोल्न शैक्षिक परामर्श संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रालयबाट सञ्चालन अनुमति दिएको स्थान भन्दा बाहिर सेवा प्रदान गरिरहेको अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन गरेको भन्दै सो निर्देशन दिएको हो ।


मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूलाई सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ को दफा ५(१) बमोजिम २०७५ साउन १४ गते अगावै स्वीकृति तथा दफा ५ (२) बमोजिम नवीकरण भएका संस्थाहरूको आ.व. २०८१÷८२ सम्मका लागि नवीकरण कार्य सुचारु रहेको समेत अवगत गराएको छ ।


‘स्वदेश वा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि अनुकूलको शिक्षण संस्था छनोट तथा प्रवेशको लागि तयारी गर्ने प्रयोजनार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्नुपर्नेमा मन्त्रालयबाट सञ्चालन अनुमति दिएको स्थान भन्दा बाहिर सेवा प्रदान गरिरहेको अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको हुँदा अनुमति पाएको विषय, क्षेत्र र स्थान बाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ को दफा १४ बमोजिम निर्देशित गरिएको छ’ सूचनामा भनिएको छ ।


साथै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ ले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द हुन सक्ने मन्त्रालयको चेतावनी छ ।