काठमाडौं/३ पुस – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कक्षा ११ र १२ का शिक्षकहरूको व्यवस्थापनका सन्दर्भमा शिक्षक सेवा आयोगसँग छलफल गरिरहेको बताएकी छन् । उनले यस विषयमा अहिले पढाइरहेका कक्षा ११ र १२ का शिक्षकहरूसँग समेत छलफल भइरहेको जानकारी दिँदै सो कुरा बताएकी हुन् ।
भट्टराईले खबर एजुकेशनसँग शिक्षामन्त्री कार्यक्रममा बुटवलका कृष्ण प्रसाद अधिकारीले सोधेको प्रश्नको जवाफ दिने क्रममा कक्षा ११ र १२ का शिक्षकहरू र शिक्षक सेवा आयोगसँग बसेर छलफल गरिरहेको बताउँदै ऐन बनिसकेपछि अझबढी व्यवस्थित गरेर कार्यान्वयन गरिने जानकारी गराएकी छन् ।
मैले सरकारी विद्यालयमा कक्षा ११/१२ मा विज्ञान विषय पढाउँछु । मेरो प्रश्न शिक्षामन्त्रीज्यूलाई शिक्षा ऐन कहिले पारित हुन्छ ? कक्षा ११/१२ का शिक्षक ५० वर्षको उमेर पुगेपनि जागिरमा कहिले सुरक्षित हुने ? असुरक्षित परिस्थितिमा शिक्षकले कक्षामा आफ्नो उत्कृष्ट प्रदर्शन कसरी गर्न सक्छन ? विद्यालय शिक्षामा कसरी सुधार हुन्छ ? कृपया हामीलाई प्रतिक्रिया दिनुहोला भन्ने अधिकारीको प्रश्न थियो ।
जवाफमा शिक्षामन्त्री भट्टराईले भनिन् “पहिलो कुरा त हामीले छिटो भन्दा छिटो विधेयक पारित गरौँ भनेर सङ्घीय संसदमा छलफलको सुरुवात गरेका छौँ । हामी छिटै विधेयकलाई पारित गरेर अगाडी बढ्ने छौं । अहिले देखिएका जतिपनि कमिकमजोरीहरू छन्, सुधार गर्नुपर्ने पक्षहरू छन् सबै विषयमा यस ऐनले आवश्यक प्रावधानहरू निर्माण गर्ने छ । संसोधनहरूलाई छलफल गरेर एउटा निर्णयमा पुग्ने छ । आगामी दिनमा जारी गरिने ऐन तथा नियमावलीमा कक्षा ११ र १२ मा पढाईरहनु भएका शिक्षकहरूको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा हामीले पटक पटक अहिले कक्षा ११ र १२ का शिक्षकहरूसँग र शिक्षक सेवा आयोगसँग बसेर छलफल गरिरहेका छौँ । यसलाई ऐन बनिसकेपछि अझबढी व्यवस्थित गरेर कार्यान्वयन गरिने जानकारी गराउन चाहन्छु ।”
यस सम्बन्धी शिक्षामन्त्रीले दिएको जवाफसहित खबर एजुकेशनसँग शिक्षामन्त्री कार्यक्रम केही दिनमा प्रसारणमा आउने छ ।