नुवाकोट/३ पुस – नुवाकोटको तारकेश्वर गाउँपालिका– २ स्थित श्री कृष्ण माध्यमिक विद्यालयका चार जना शिक्षकहरूको सरुवा भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफुहरूलाई पुरानै शिक्षकले पढाउनुपर्ने र पुरानै शिक्षक विद्यालयमा चाहिन्छ भन्दै नाराबाजी गरेका थिए ।
पालिकाले शिक्षकहरूको सरुवा गरेपछि पुरानै शिक्षक चाहिन्छ भनेर केही विद्यार्थीहरूले नाराबाजी गरेको र आज एक दिन मात्रै विद्यालय बन्द भएको तारकेश्वर गाउँपालिकाका प्रवक्ता श्याम अछामीले बताए । उनले यस विषयमा कार्यदलको बैठक आजै बसेर समस्याको हल गरिने जानकारी दिए ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने विषयमा पनि केही कुराहरू उठिरहेको र नेतृत्व गर्न सक्ने जेष्ठताका आधारमा नागरिकलाई अध्यक्ष बनाउनुपर्ने पालिकाको धारणा रहेको प्रस्ट पारे ।