त्रिविको ५० औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा पुस १३ हुँदै

काठमाडौं/२९ मंसिर – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ५० औँ दीक्षान्त समारोह दशरथ रङ्गशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ । समारोह आगामी पुस १३ गते शनिवार हुने जनाएको हो ।


समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र सिटिङ व्यवस्थापन अनुसार तोकिएको स्थानमा बसि सक्नुपर्ने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।


विद्यावारिधि (पिएचडी) र दीक्षान्त पदक/पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरू सबैभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्ने जनाएको छ ।


प्रमाणपत्र वितरण :


प्रमाणपत्र वितरण दशरथ रङ्गशालाको उत्तरपट्टि श्री नेपाली सैनिक प्रधान कार्यालयस्थित प्रमाणपत्र वितरण काउन्टरबाट गरिने र विद्यार्थीलाई प्राप्त एसएमएस अनुसार तोकिएको काउन्टरमा सम्पर्क राख्नुपर्नेछ ।


साथै प्रमाणपत्र लिनका लागि अनलाइन फर्म भर्दा प्राप्त गरेको सेरमोनि स्लिप ल्याउनुपर्नेछ । दीक्षान्त समारोहमा उपस्थित भएका तर सो दिन प्रमाणपत्र लिन नभ्याएका र भाग लिन आवेदन दिई भाग लिन नसकेका विद्यार्थीहरूले पछि त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, रेकर्डस् तथा प्रमाणपत्र महाशाखा, बल्खु (कोठा नं. ३) बाट प्रमाणपत्र प्राप्त गर्न सक्ने विश्वविद्यालय जनाएको छ ।