शिक्षक आयोगको प्रतिस्पर्धामा धेरै सहभागी भएतापनि उत्तीर्ण हुने दर कम भयो : शिक्षामन्त्री

काठमाडौं/२८ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई शिक्षक सेवा आयोगले आयोगको सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।


प्रतिवेदन ग्रहण गर्दै मन्त्री विद्या भट्टराईले शिक्षक सेवा आयोगले आफ्नो कार्यसम्पादन राम्रोसँग गरेको र आम समुदायमा विश्वसनीयता कायम गरेको बताउँदै अझै परिष्कृत कार्यसम्पादन गर्न सुझाव दिएकी छन् ।


अहिले शिक्षक प्रतिस्पर्धामा धेरै सहभागी भएतापनि उत्तीर्ण हुने दर कम भएको हुँदा सकेसम्म बढी प्रतिस्पर्धा कसरी गराउन सकिन्छ अध्ययन गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय गरी तिनै तहसँग अन्तरक्रिया गरी आगामी दिनमा आयोगको प्रभावकारिता अझै बढाउनु पर्ने कुरा बताएकी छन् ।


साथै प्रतिवेदनमा प्राप्त सुझावहरूलाई समाधान गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । शिक्षक सेवा आयोगका अध्यक्ष मधु प्रसाद रेग्मीले आयोगले आम मानिसको विश्वासयोग्य संस्था बनेको बताए । “अझै आयोग समक्ष केही समस्या र चुनौतीहरू रहेका छन् , यो प्रतिवेदनमा उक्त समस्या समाधानका लागि सुझाव समेत प्रस्तुत गरेका छौैँ उनले भने ।”