शिक्षा मन्त्रालयले स्टिम सामग्री निर्माणको प्रतिस्पर्धा गराउने

काठमाडौं/२८ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीहरू बीच स्टिम सामग्री निर्माणको प्रतिस्पर्धा गराउने भएको छ । मन्त्रालयले आर्थिक वर्ष. २०६१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम विश्वविद्यालय वा विश्वविद्यालयका आङ्गिक वा सम्बन्धन प्राप्त क्याम्पस वा कलेज वा महाविद्यालयमा अध्ययनरत विद्यार्थीबिच प्रतिस्पर्धा गराउने भएको हो ।


यो वर्षको प्रतिस्पर्धाको विषय “विद्यालय तहको कक्षा ४– १० मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित (स्टिम) सिकाई सामाग्री निर्माण” रहेको छ । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालय वा विश्वविद्यालयको सम्बन्धन वा आङ्गिक क्याम्पस वा कलेज वा महाविद्यालयमा उच्च शिक्षाको तहमा अध्ययनरत विद्यार्थी वा विद्यार्थीको समूहबाट निवेदन माग गरिने, प्राप्त हुन आएका निवेदनबाट दोस्रो चरणका लागि समूह छनोट गरिने र विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको वस्तु निर्माण गर्न चार महिनाको समय दिइने छ ।


गत आर्थिक वर्षहरूमा सञ्चालित प्रतिस्पर्धा कार्यक्रममा समावेश भएका सामग्री पुनः सोही डिजाइनमा प्रस्तुत गर्न नपाइने मन्त्रालयले जनाएको छ । साथै दोस्रो चरणको लागि छनोट भएको विद्यार्थी वा विद्यार्थीको समूहलाई “विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित ( स्टिम) विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८१ बमोजिम प्रति सामाग्री अधिकतम नेपाली रुपैयाँ पचास हजार सहयोग रकम प्रदान गरिने छ ।


प्रतिस्पर्धामा सहभागी हुन विद्यार्थीले पुस २७ गते भित्रमा कार्यालय समयभित्र आई पुग्ने गरी कार्यविधिको अनुसूची – २ को खण्ड (क) र (ख) बमोजिमको ढाँचामा यस मन्त्रालयमा आइपुग्ने गरी वा सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी [email protected] मा ईमेल गरी निवेदन दिन सकिने छ । कार्यविधि मन्त्रालयको वेभसाइट www.moest.gov.np बाट हेर्न वा डाउनलोड गर्न सकिने छ ।