काठमाडौं/२७ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटक मार्फत अपमान जनक सामग्री र सामाजिक मूल्य मान्यतामा विकृति सिर्जना गर्न खोज्ने शैक्षिक परामर्श संस्थाहरूसँग स्पस्टिकरण सोधेको छ ।
टिकटकमा प्रयोग गरिएका प्रचार सामग्री लैङ्गिक हिसाबले अपमान जनक, स्थापित सामाजिक मूल्य मान्यताको प्रतिकूल तथा समाजमा विसङ्गति र विकृति सृजना गर्न खोजेको देखिएको भन्दै स्पस्टिकरण सोधेको हो ।
खबर एजुकेशनले प्रकाशित गरेको समाचार : टिकटकमा शैक्षिक परामर्श संस्थाको विद्यार्थी भड्काउने बकबास विज्ञापन
मन्त्रालयले त्यस्ता सामग्री बनाएर समाजमा विसङ्गति र विकृति सृजना गर्ने शैक्षिक परामर्श संस्थाहरूको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ (संशोधन सहित) को दफा (६) बमोजिम रद्द गरी दफा (१५) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ (संशोधन सहित) को दफा ७ उपदफा १ को खण्ड (ज) बमोजिमको शैक्षिक परामर्श, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण दिने संस्थाले आफ्नो सेवासम्बन्धी प्रचार प्रसार गर्दा पालना गर्नु पर्ने सर्तहरू र सोही दफाको उपदफा ३ को खण्ड (ख) बमोजिमका शर्तहरूको प्रतिकूल देखिएकाले त्यस संस्थालाई यस प्रकारका प्रचार सामाग्रीहरू प्रचार प्रसार गरी विद्यमान कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी गरेको उक्त कार्यको आधारमा संस्थालाई दिएको स्वीकृति निर्देशिकाको दफा (६) बमोजिम रद्द गरी दफा (१५) बमोजिम समेत किन कारबाही नगर्ने ? स्वीकृति रद्द नगरी प्रचलित कानुन अनुसार कारबाही गर्न नपर्ने कुनै कारण र आधार भए पत्र प्राप्त भएको मितिले ३ (तीन) दिन भित्रमा लिखित स्पष्टीकरण पेस गर्नु हुन निर्देशानुसार अनुरोध छ पत्रमा भनिएको छ ।
साथै शैक्षिक परामर्श संस्थाले सामाजिक सञ्जाल टिकटकमा “तिम्रो बुढो पठाउने को“ शीर्षक दिइ अपलोड गरेको डिपेन्डेन्ट सहित विदेश पठाउने ब्यहोराको भिडियो सन्देश प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।
उच्चशिक्षा महाशाखाका सहसचिव वैकुण्ठ अर्यालले त्यस्ता सामग्री प्रचार प्रसार गर्ने शैक्षिक परामर्श संस्थाहरूको नविकरणमा पनि समस्या हुने बताए । उनले त्यस्ता शैक्षिक परामर्श संस्थाहरूलाई स्पस्टिकरण सोधिएको बताउँदै जवाफ आएपछि मन्त्रालयले के कति काम कारबाही गर्ने आन्तरिक छलफल गरेर अगाडी बढ्ने जानकारी दिए ।