काठमाडौं/२५ मंसिर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभागका प्रमुख नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्दा खुला प्रतिस्पर्धा (मेरिटोरेसी) लागू हुनुपर्ने काँग्रेसको धारणा रहेको बताएका छन् ।
प्राज्ञ समूहद्वारा आज काठमाडौंमा आयोजित “प्राज्ञिक विमर्श “ कार्यक्रममा नेता महरले सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागु हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, “व्यक्तिगत रूपमा पनि मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्ने आवाज उठाउँदै आएको छु ।
विश्वविद्यालयको श्वायत्तता र गरिमा बढाउने पक्षमा दृढतापूर्वक नेपाली काँग्रेस उभिँदै आएकोछ ।“ शिक्षाको उन्नयनका लागि काँग्रेसले देशव्यापी रूपमा ’शिक्षा नीति बहस अभियान ’ सञ्चालन गरेको महरको भनाई थियो ।
त्रिभुवन विश्वविद्यालय मात्र नभइ नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुँदा उच्च शिक्षालाई विश्व प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सकिने नेता महरको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय लगायतमा पदाधिकारी नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति इंगित गर्दै उनले भने, “विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा मेरिटोरेसीलाई हात्तीको देखाउने दाँत मात्र नबनाइ यसको ध्येय पूरा गर्न सरकार र विश्वविद्यालयका पदाधिकारी गम्भीर हुनुपर्छ ।“
यस्तै महरले त्रिविको १४ सय रोपनी जग्गा हिनामिनामा संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।