काठमाडौं/२५ मंसिर – संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको छलफलमा रहेको विद्यालय शिक्षा ऐन शीघ्रातिशीघ्र अगाडी नबढाए कठोर आन्दोलनमा जाने नेपाल शिक्षक महासङ्घले चेतावनी दिएको छ । महासङ्घ बीच भएका सहमतिको सम्बोधन हुने गरी सुझाव सहित विधेयकलाई शीघ्रातिशीघ्र अगाडी बढाउन भन्दै महासङ्घले चेतावनी दिएको हो ।
साथै विद्यालय शिक्षा ऐन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको छलफलमा कतिपय जिम्मेवार पदाधिकारीबाट विद्यालयको शिक्षा र कार्यरत शिक्षकलाई लाञ्छित र अपमानित गर्ने खालका अभिव्यक्तिहरू सार्वजनिक भएको भन्दै महासङ्घले आपत्ति जनाएको छ ।
महासङ्घले विद्यालय शिक्षा, शिक्षक तथा कर्मचारीलाई लाञ्छित र अपमानित गर्ने गरी अभिव्यक्ति नराख्न सम्बन्धित पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।