दाङ/१३ कार्तिक – तुल्सीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले सेवाभावको सन्देशका साथ विद्यालयमा जान जुनियर रेडक्रसलाई आग्रह गरेका छन् । विद्यार्थीमा नेपालमै बसेर देशकको सेवा गर्नुपर्छ भन्ने भावना नभएको भन्दै सेवाभावको सन्देश लिएर जुनियर रेडक्रस हरेक विद्यालयमा जानुपर्ने बताएका हुन् ।
दाङको तुल्सीपुरमा भएको लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षको भेलालाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले पछिल्लो समय विद्यार्थीहरूमा सेवाभाव समेत घट्दै गएको बताए ।
‘क्याम्पस पढ्न थालेको विद्यार्थीले विदेश पलायन हुने मानसिकता बनाउने गरेका छन् ।’ नगर प्रमुख खड्काले भने,‘उनीहरूलाई स्कुले जीवनमै देशमै बसेर केही गर्नुपर्छ भन्ने शिक्षा दिन जरुरी छ ।’ युवा र विद्यार्थी विदेश पलायन हुँदा घर रहेका बाबुआमालाई स्याहार गर्ने मान्छे नहुने पाइएको भन्दै उहाँले सबैभन्दा ठुलो धर्म बाबुआमाको सेवा भएको उल्लेख गरे ।
पछिल्लो समय अवैध मार्गबाट अमेरिका जाने लहर चलेको र घरमा बुवा वा आमाको निधन भएमा अमेरिका गएको छोरो काजकिरिया गर्न आउन नसक्ने बताउँदै बाबुआमाको काजकिरिया भाडामा राखेको मान्छेबाट गराइने गरेको उनको भनाई थियो । उनले भने यो भन्दा विडम्बना के हुन सक्छ ? त्यसैले जुनियर रेडक्रसले हरेक विद्यालयमा गएर देश प्रेमको शिक्षा दिए विदेश पलाएनमा कमी ल्याउन लाग्नु पर्छ ।