किटिनी माध्यमिक विद्यालयमा कोडिङ र रोबोटिक्स पाठ्यक्रम सुरु

काठमाडौं/११ कार्तिक – गोदावरी–३ टौखेलमा अवस्थित किटिनी माध्यमिक विद्यालय विद्यार्थीहरूका लागि कोडिङ र रोबोटिक्स विषयमा एक वर्ष लामो पाठ्यक्रम सञ्चालन गर्ने ललितपुर जिल्लाकै पहिलो सामुदायिक विद्यालय बनेको छ ।


यस पहलको एक भागको रूपमा २५ अक्टोबर २०२४ मा किटिनी इनोभेसन ल्याबको एक समारोह बिच रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द घिमिरेद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ यलका अध्यक्ष धर्मेन्द्र शाक्य, विद्यालयका प्रधानाध्यापक सरोज कुमार के. सी. सहायक प्रधानाध्यापक दिनेश कुमार थापा, रोटेरियन, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


सो अवसरमा बोल्दै गभर्नर शेरचनले रोटरी क्लब अफ यलको नेतृत्वमा भएको यो उत्कृष्ट र महत्वपूर्ण पहल देख्न पाउँदा अत्यन्तै खुसी व्यक्त गर्दै डिस्ट्रिक्ट ३२९२ को आधारभूत शिक्षा कार्यक्रम अन्तर्गत यस्ता गतिविधिलाई प्राथमिकतामा राखेर त्यसका लागि आफूले सक्दो सहयोग गर्ने कुरा बताए ।


अध्यक्ष घिमिरेले विद्यार्थीको सिर्जनशीलता अभिवृद्धिका लागि आवश्यक यो कोडिङ र रोबोटिक्स पाठ्यक्रम सञ्चालन गरेकोमा रोटारियनहरूलाई धन्यवाद दिँदै रोटरी क्लब अफ यललाई आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन र विद्यार्थीहरूलाई आफ्नो भविष्यको क्यारियर सुरक्षित गर्नका लागि उपयोगी २१ औं शताब्दीका सीपहरू सिक्ने अवसरबाट वञ्चित हुन नदिन आग्रह गरे ।


रोटरी क्लब अफ यलले समुदायको दिगो परिवर्तनको लागि सेवा गर्ने आफ्नो लक्ष्यद्वारा निर्देशित भएर किटिनी माध्यमिक विद्यालयसँग ६० भन्दा बढी विद्यार्थीहरूलाई कोडिङ र रोबोटिक्सको एक वर्ष लामो परिचयात्मक पाठ्यक्रम सुरु गर्नको लागि हात मिलाएको छ । यसअघि गत वर्ष क्लबले ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका तीन सामुदायिक विद्यालयमा कोडिङ र रोबोटिक्स बुट क्याम्प सञ्चालन गरेको थियो । त्यसपश्चात नियमित पाठ्यक्रम सञ्चालन गर्ने सम्भाव्यताको अध्ययन तथा अभिभावकको चासोको मूल्याङ्कन गरेको थियो ।


क्लबले यो पहल र कार्यक्रमको संयोजन दुरशिक्षा एजुकेशन नेटवर्क, काठमाडौंको प्राविधिक सहयोगमा गरेको छ । यस परियोजनामा विद्यार्थीहरूलाई सैद्धान्तिक सीपहरूको अभ्यास गर्न, उनीहरूको रचनात्मकता प्रयोग गर्न र आधुनिक प्रविधिको प्रयोगको साथ वास्तविक–विश्व समस्याहरू समाधान गर्न आवश्यक उपकरण तथा सामाग्रीहरू रहेको किटिनी इनोभेसन ल्याबको प्रावधान पनि समावेश रहेको छ ।


धेरै सानो तथा दायरामा सीमित भएता पनि यो प्रयासले सरोकारवालाहरूलाई साना बालबालिकाका लागि आधुनिक सीपहरूको विकासमा सान्दर्भिकता प्रदर्शन गर्न, यस कार्यमा देखापर्ने अवरोधहरू पार गर्न तथा सरकारी निकायहररुलाई स्रोत बाँडफाँडमा पुनर्विचार गर्न, संस्थागत सहयोग प्रदान गर्ने र सामुदायिक विद्यालयहरूमा यस्ता अत्यावश्यक पाठ्यक्रमहरू नियमित सञ्चालन गर्ने कार्यको मार्ग प्रशस्त गर्ने उद्देश्यले यो प्रयास गरिएको बताइएको छ ।