काठमाडौं/१७ असोज – विद्यार्थीहरूलाई उद्योगसँग जोड्ने उदेश्यले एभरेष्ट इन्जिनियरिङ कलेजले एकेडेमीकल इनोभेसन इन इन्डष्ट्रिज सेमिनार सम्पन्न गरेको छ । विशेष गरेर आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरूसँगको माग अनुसार कलेजहरूले विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्ने र पढाई पश्चात् उद्योगसँग जोड्ने कार्यक्रमको मूल उदेश्य रहेको थियो ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा.पदम बहादुर शाही प्रमुख आतिथि रहेको उक्त कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा सञ्चालन गरीरहेका इन्जिनियरिङ कलेजहरू, प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरू, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्हरू, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ताहरू तथा समग्र इन्जिनियरिङ विषयका विद्यार्थीहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।
सेमिनारमा उपस्थित शिक्षाविदहरू त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू प्रा.डा. सुवर्ण शाक्य, डा. बाबुराम दवाडी, काठमाडौँ विश्वविद्यालयका प्रा.डा.सुदन झा, प्रा.डा. सुबोध शर्मा, डा.राजिव सुब्बा प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरू लिप फ्रग, कोटीभिटी, इन्तुजी लगायतका विज्ञहरू बिच नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नवप्रवर्तन बिचको खाडल लाई कम गर्ने सम्बन्धमा बृहत्तर छलफल भएको थियो ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तर्राष्ट्रिय मान्यताका भईराखेका गतिविधिका बारेमा जानकारी दिए । उनले उच्च शिक्षा र उद्योगबिच ठुलो खाडल रहेको र अब त्यसलाई तोड्नुपर्ने बताउँदै विश्वविद्यालयले हरेक सेमेस्टरमा पाठ्यक्रमलाई परिमार्जन गर्नुपर्ने बताए ।
कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनहरूमा इन्जिनियरिङ सेवा र नवप्रवर्तन र इन्जिनियरिङ शिक्षा बिचको खाडल लाई कम गर्न नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने तथा कलेजका सम्पूर्ण श्रोत साधनहरू अनुसन्धानका लागि निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । साथै पैसा नभएर पढ्नबाट विद्यार्थीहरूलाई वञ्चित गर्न नहुने र त्यसका लागि कलेजले सहजिकरण गर्ने जानकारी दिए । यसका लागि विद्यार्थीहरूले कलेजको प्रक्रिया पुरा गरेर आवेदन दिए पढाउन तयार रहेको समेत बताए ।
ललितपुरको सानेपामा सञ्चालित पोखरा विश्वविद्यालय बाट सम्बन्धन प्राप्त एभरेष्ट इन्जिनियरिङ कलेजले यसै वर्ष देखि स्नातकोत्तर तहमा एमइ कम्प्युटर इन्जिनियरिङ सञ्चालन गर्ने जनाएको छ । एमइ कम्प्युटर इन्जिनियरिङका बारेमा जानकारी दिँदै एमइका संयोजक प्रा.डा.श्यान किरात राईले विद्यार्थीहरूका लागि थेसिस सहित दुई वर्षमा पढाई सक्ने गरी विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए । प्राचार्य इ. विरोध रिजालले उक्त कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने सहप्राचार्य इ.राजन लामाले स्वागत मन्तव्य राखेका थिए ।